वर्षा लागेपछि पोखरा–२३ सिधानेसम्म गाडी जाँदैन, दुई घण्टा पैदल घाँटीछिना पुगेपछि त्यहाँबाट बसमा एक घण्टाको यात्राबाट पोखरा पुगिन्छ। वडा कार्यालय पुग्नै पनि तीन घण्टा पैदल हिँड्नुपर्छ।
पोखरा– पोखरा महानगरपालिका–२३ माथिल्लो सिधानेका लालबहादुर भुजेल (७३) असारे झरीमा छाता ओढेर ओरालो झर्दै गरेका भेटिए। उनलाई बिहान ९ बजेको गाडी भेट्न घाँटीछिना पुग्नुपर्ने हतार थियो।
वर्षाले गाउँ आउने बाटो भत्काएपछि गाडी चढ्न करिब दुई घण्टा पैदल घाँटीछिना पुग्नुपर्ने भएको छ। त्यहाँबाट एक घण्टाको यात्रापछि बल्ल पोखरा–६ हल्लनचोक अर्थात् बजार पुगिन्छ। सिधानेका स्थानीय सामान्य कामकाजदेखि बैंकिङ कारोबार र स्वास्थ्य उपचारसम्म करिब १७ किलोमिटर टाढाको पोखरा बजार पुग्नुपर्छ। अनि मात्र महानगरपालिकाको सुविधा पाउन सक्छन्।

लालबहादुर वृद्धभत्ता बुझ्न हिँडेका थिए। सामान्य खेतीकिसानी गरेर गाउँमै रमाइरहेका भुजेललाई आफू महानगरबासी भएकोमा हर्ष र विस्मात् दुवै छ। उनले मुसुक्क हाँसेर जवाफ दिए, “हामीलाई त के पोखराबासी भन्ने! पर्न त नगरपालिका नै पर्यो के रे! हामी गाउँबासी नै हौँ।”
बर्खायाममा गाउँमा सवारीसाधन चल्दैन। सिधानेबासीलाई पोखरा–२३ को वडा कार्यालय बाम्दी पुग्न पनि करिब तीन घण्टा पैदल हिँड्नुपर्छ। बाँकी कामका लागि पोखराको मुख्य बजारमै पुग्नुपर्छ। लालबहादुरको खुट्टा सहीसलामत छैनन्। त्यसैले वृद्धभत्ता बुझ्न जाँदा मुस्किल पर्छ। “खुट्टा ट्याक्टरले कुल्चेकाले केही कमजोर भएको छ। अझैँ हिँड्न त सक्छु,” उनी भन्छन्।

लालबहादुर अहिले पनि पाँच वटा भैँसी पालेर एक्लै स्याहार गरिरहेका छन्। भैँसीका पाडापाडी स्याहार्न नै रमाइलो लाग्ने उनी बताउँछन्। “पहिले त १२–१३ वटा भैँसी पाल्थेँ। अहिले त पाँच वटा मात्रै पालेको छु,” उनी भन्छन्।
अहिले उनलाई पैताला डम्म टेक्न गाह्रो हुन्छ। गम बुट लगाएर लौरोको सहाराले हिँड्नुपर्छ। गोँठमा भैँसी पालेरै युवावय सकाएका लालबहादुरको घरखर्च भैँसीको घिउ बेचेरै चलेको छ। “दूध बेच्दिनँ, घिउ बेच्छु,” उनी भन्छन्, “गाउँमै खरिद गर्न आउँछन्, बेच्न अन्त लैजान पर्दैन।”

बुढ्यौलीले छोप्दै आए पनि गाउँ छाड्ने मन नगरेका लालबहादुरलाई वृद्धभत्ता गाउँमै बुझ्न पाए सजिलो हुन्थ्यो भन्ने लागेको छ। बर्खायाममा जीपबाट खाद्यान्नलगायत अत्यावश्यक सामग्री गाउँसम्म ल्याउन सके पनि सवारी सुविधा पाउन असम्भव नै हुन्छ। शहरको सुविधा भोग गर्न सबैले गाउँ छाड्न थाल्दा उनी चिन्तित छन्। “म त यहीँ बस्ने। वृद्धभत्ता बुझ्न तीन–तीन महिनामा पोखरा जानुपर्छ। मलाई त यतै बस्न ठीक। सानैबाट यतै हुर्कें,” उनी भन्छन्, “उनीहरूको पैसा छ, जान्छन्। हाम्रो पैसा छैन।”
गाउँमा दुःख, बिमार पर्दा सघाउने युवा छैनन्। बच्चाहरूलाई गुणस्तरीय शिक्षा दिलाउने बहानामा पनि युवाले गाउँ छाडेकै छन्। “मेरो नातिनातिना ठूलाखेतमा पढ्छन्। यहाँ स्कूल त छ।, राम्रो पढाउनलाई होला सबै पोखरातिरै जान थाले,” उनी भन्छन्।

गाउँमै दुःखजिलो गरेर रमाइरहेका लालबहादुरलाई बाहिरी दुनियाँसँग खासै सरोकार छैन। चुनावको बेला भोट माग्न घरसम्मै आएका वडाध्यक्ष र मेयर त्यस उप्रान्त भेटेका छैनन्। “म त गोठमा बस्छु। सरकार परिवर्तन कहिले भयो, कसो भयो, मलाई त चासै छैन,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
