लक्ष्यअनुसार राजस्व उठाउन सरकार असफल, ७५ प्रतिशत मात्र संकलन

सरकारले आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा १० खर्ब ७५ अर्ब रुपैयाँ मात्र उठाउन सकेको छ।

काठमाडौँ– सरकार आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यअनुसार राजस्व उठाउन असफल भएको छ। 

महालेखा नियन्त्रकको कार्यालयका अनुसार १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा १० खर्ब ७५ अर्ब रुपैयाँ (करिब ७५ प्रतिशत) मात्र उठेको छ। तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट खर्च १५ खर्ब ३० अर्ब हुने र १२ खर्ब ५३ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेका थिए। 

अर्थतन्त्रमा आएको संकुचन, महँगी र आयात घट्नुलगायत कारण राजस्व कम उठेको सरकारको दाबी छ। महालेखा नियन्त्रकको तथ्यांकअनुसार सरकारले करिब ११ खर्ब रुपैयाँ आम्दानी गरेको छ। जुन खर्चभन्दा तीन खर्ब रुपैयाँ कम हो।

गत आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो। असार मसान्तसम्ममा कूल १४ खर्ब आठ अर्ब ७६ करोड ४५ लाख मात्रै खर्च भएको छ। चालुतर्फ ११  खर्ब ४१ अर्ब ७८ लाख ४१ हजार बजेट विनियोजन भएकोमा ८३.४१ प्रतिशत खर्च भएको छ।

त्यस्तै, पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख विनियोजन भएकोमा लक्ष्यको ६३.४७ प्रतिशत मात्रै खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकको बजेट खर्च ८६.०७ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षमा वैदेशिक अनुदानतर्फ सरकारी लक्ष्यको तुलनामा वास्तविक प्राप्ति निकै कम छ। कूल ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले २२.४८ प्रतिशत मात्रै अनुदान लिन सकेको देखिएको हो।