साहित्यप्रेमी चोर: चर्चित लेखकको घर भन्ने थाहा पाएपछि फिर्ता गरे चोरेका सामान

एउटा कोठामा नारायण सुर्वेको तस्वीर देखेपछि आफूले चोरिरहेको घर चर्चित लेखकको हो भनेर थाहा पाउँछन्। त्यसपछि अघिल्लो दिन चोरेर लगेका सामानहरू पनि फिर्ता गर्छन् र एउटा चिठी लेखेर छाड्छन्।

एआईको सहयोगमा निर्मित प्रतीकात्मक तस्वीर

आफूले चोरी गरेको घर चर्चित लेखकको भन्ने थाहा पाएपछि एक जना चोरले सबै सामान फिर्ता गरेका छन्। यो घटना भारत, महाराष्ट्रको हो।

मुम्बई प्रहरीका अनुसार चोरी भएको उक्त घर एक प्रसिद्ध मराठी लेखक नारायण सुर्वेको थियो। रायगढ जिल्लाको नेरलस्थित घरबाट चोरले एलईडी टिभी र अन्य बहुमूल्य सामान चोरेको मंगलबार प्रहरीले जनाएको छ। 

सुर्वेको ८४ वर्षको उमेरमा सन् २०१० मा निधन भएको थियो। उनी चर्चित लेखक हुनुका साथै समाजसेवी पनि थिए। मुम्बईमा जन्मेका सुर्वेका कविताहरूले शहरी मजदुर वर्गको संघर्षलाई स्पष्ट रूपमा चित्रण गरेका छन्। अहिले उनकी छोरी सुजाता र श्रीमान् गणेश घारे त्यस घरमा बस्दै आएका थिए। उनी छोरालाई भेट्न विरार गएकाले १० दिनदेखि घर बन्द थियो। त्यही मौकामा चोरलाई चोरी गर्न सजिलो भयो।

अघिल्लो दिन टिभीलगायत सामान चोरेर गएका ती चोर फेरि भोलिपल्ट पनि थप सामान चोर्न भनेर घरभित्र छिर्छन्। तर एउटा कोठामा नारायण सुर्वेको तस्वीर देखेपछि आफूले चोरिरहेको घर चर्चित लेखकको हो भनेर थाहा पाउँछन्। त्यसपछि उनलाई पछुतो लाग्छ र अघिल्लो दिन चोरेर लगेका सामानहरू पनि फिर्ता गर्छन् र एउटा चिठी लेखेर छाड्छन्।

आइतबार सुर्वेकी छोरी सुजाता श्रीमान‍्सँगै रायगढ फर्किएपछि घरको भित्तामा टाँसेको उक्त चिठी देख्छिन् र तुरुन्तै प्रहरीलाई खबर गर्छिन्। उक्त चिठीमा चोरले महान साहित्यकारको घरबाट चोरी गरेकोमा माफी मागेको नेरल प्रहरी चौकीका इन्स्पेक्टर शिवाजी धवलेले भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियासँग बताएका छन्।

"मलाई माफ गर्नुहोला, यो घर चर्चित लेखकको हो भन्ने मैले अनुमानै गरेको थिइनँ," उक्त नोटमा लेखिएको छ। ती चोर साहित्यप्रेमी भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको र टिभी र अन्य सामानमा लागेको औँठाछाप संकलन गरेर अनुसन्धान भइरहेको र त्यसैका आधारमा चोरलाई पक्रने प्रयास गरिने प्रहरीले जनाएको छ।

प्रख्यात मराठी लेखक सुर्वे लेखक हुनुअघि मुम्बईको सडकमा अनाथको रूपमा हुर्केका थिए। उनले घरेलु कामदारदेखि होटेलको भाँडा धुने सम्म काम गरे। कहिले भरिया त कहिले कुकुर डुलाउने काम गरे। सायद यही कारणले गर्दा उनका कृतिहरूमा शहरी मजदुर वर्गको अवस्थालाई स्पष्टरूपमा वर्णन गरिएको पाइन्छ।