चितवनमा १ वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु

दुर्घटनामा परी मृत्यु हुनेमा ९२ पुरुष, १९ महिला र चार बालक रहेका छन्। सो अवधिमा ४४५ सवारीसाधन दुर्घटनामा परेका थिए।

चितवन– चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ११५ जनाको मृत्यु भएको छ। २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो। जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका दुर्घटनामा परी बढी मानवीय क्षति भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा ९२ पुरुष, १९ महिला र चार बालक रहेका छन्। सो अवधिमा ४४५ सवारीसाधन दुर्घटनामा परेका थिए। ती दुर्घटनामा परी ८३२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश सुवेदीले जानकारी दिए। जिल्लाका भित्री सडकमा एक वर्षमा २५० सवारीसाधन दुर्घटना भएका थिए। भित्री क्षेत्रका सडकमा भएका दुर्घटनामा परी ५० जनाको मृत्यु भएको छ भने ३८२ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा दुर्घटनामा परी ५७ जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा भएका ९६ दुर्घटनामा २६ जनाको मृत्यु भएको थियो भने २०४ जना घाइते भएका थिए। यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा भएका ५५ दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो। ती घटनामा १५१ जना घाइते भएको कार्यालयको तथ्यांकमा उल्लेख छ। 

पृथ्वी राजमार्गअन्तर्गत चितवनमा पर्ने सडकखण्डमा भएका १८ सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन्। जिल्लाको सहरी सडकखण्डमा सो अवधिमा २६ वटा दुर्घटना भएका थिए। ती दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए। जिल्लामा आव २०७९/८० मा ३०३ सवारीसाधन दुर्घटना भएका थिए। ती दुर्घटनामा ७८ जनाको मृत्यु भएको थियो भने ५८१ जना घाइते भएका थिए। 

“सवारी दुर्घटना कम गर्न जति काम गरे पनि प्रभावकारी देखिएको छैन,” प्रमुख सुवेदीले भने।