सिक्किमको पुरानो राजनीतिक दल झुल्के घामका संस्थापक आरसी पौड्यालको निधन

पौड्याललाई सिक्किमका बहुसंख्यक नेपाली समुदायको राजनीतिक अधिकारका लागि लड्ने पहिलो नेता पनि मानिन्छ।

काठमाडाैँ– सिक्किमका पूर्वमन्त्री तथा पुरानो राजनीतिक दल झुल्के घामका संस्थापक आरसी पौड्याल मृत भेटिएका छन्। ९ दिनदेखि सम्पर्कविहीन भएका ८० वर्षीय पाैड्यालको शव भारत–बांग्लादेश सीमास्थित टिस्टा नहरमा तैरिरहेको अवस्थामा मंगलबार फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घडी र कपडाबाट शवको पहिचान भएको हो। उनी असार २३ गते आफ्नो गृहनगर पाक्योङ जिल्ला छोटा सिंगतामबाट बेपत्ता भएका थिए। गृहजिल्लामै बुधबार उनको अन्येष्टि गरिएको छ। उनलाई श्रद्धाञ्जली अर्पण गर्दै सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो दुःख व्यक्त गरे।

उनी बेपत्ता भएपछि खोजी कार्यका लागि विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको थियो। अहिले उनको मृत्युको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिक्किममा राजतन्त्र हटाउनमा पाैड्यालको ठूलो योगदान रहेको छ। राजतन्त्र अन्त्यको माग गर्दै शुरूमा भोक हड्ताल बस्ने उनी पहिलो व्यक्ति पनि हुन्। पौड्याल पहिले सिक्किम विधान सभाको उपाध्यक्ष  र पछि राज्यको वनमन्त्री बने।

पौड्याललाई मुख्यतया सिक्किमको बहुसंख्यक नेपाली समुदायको राजनीतिक अधिकारको लागि लड्ने पहिलो नेता मानिन्छ। जसले भारत सरकारको विधेयक नम्बर ७९ अन्तर्गत सिक्किममा रहेका नेपालीभाषीहरूको लागि सिट आरक्षण हटाउने निर्णयप्रति कडा आपत्ति जनाउँदै सन् १९७९ मा सर्वोच्च अदालतमा लामो कानूनी लडाइँ लडेका थिए। उनी हारेपछि सिक्किमका नेपालीका लागि सिट आरक्षण सदाका लागि रद्द भयो तर अधिकारको निम्ति अझै राजनीतिक सक्रियता भने विभिन्न दलमार्फत जारी छ। सोही निर्णयले सिक्किमको एउटा सिट धर्मको आधारमा अक्षुण्ण राखेको छ र सिक्किम विधानसभामा भुटिया र लेप्चा समुदायका लागि १२ सिट आरक्षित गरिएको छ। जबकि विधेयक नम्बर ७९ अघि सिक्किममा नेपाली र भुटिया लेप्चाका लागि १६/१६ सिट आरक्षित थिए।

पौड्याल भविष्यवाणी प्रकरणले पनि चर्चामा रहेका थिए। सन् १९९४ मा संसार प्रलय हुने उनको भविष्यवाणीले निक्कै चर्चा बटुलेको थियो। यद्यपि उनको भविष्यवाणी सिद्ध नभए पनि तत्कालीन सिक्किममा सत्तारूढ दलको सरकार भने परिवर्तन भएको थियो।