सिमलताल दुर्घटना: फेला परेका १९ शवमध्ये १४ को सनाखत

त्रिशूलीमा बेपत्ता भएका यात्रुमध्ये बुधबारसम्म १९ जनाको शव फेला परेको र बाँकीको खोजी कार्य जारी रहेको  सशस्त्र प्रहरी बलले जनाएको छ। 

काठमाडौँ– नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ। 

सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँचजनाको सनाखत हुन बाँकी रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापा बताए। 

“बुधबार भेटिएकामध्ये भारतका ऋषिपल साह, चितवन माडिका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ,” उनले भने, “यसैगरी रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ,  पाँचजना पुरुषको सनाखत हुन बाँकी छ।”

वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको गणपती डिलक्सको बस पहिलोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए। दुवै बसमा गरी ६५ यात्रु रहेको थिए। बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ताले हाम फालेर ज्यान जोगाएका थिए।