पक्की सडक सञ्जालले फेरिँदै छन् सूर्यविनायकका गाउँ

सडक स्तरोन्नति भएपछि गाउँमा उत्पादित तरकारी, दूधजन्य पदार्थ बजारमा बिक्रीका लागि लैजान सहज भएको छ। काठमाडौँबाट तरकारी लिन गाउँमै गाडी आउन थालेका छन्।

भक्तपुर– सूर्यविनायक नगरपालिका‐१० भंगाल–खड्कागाउँ सल्लाघारी हुँदै चाँगुनारायण नगरपालिका‐९ ताथली जोड्ने ग्रामीण रिङरोड सडक यतिखेर चिल्लो देखिन्छ। ४० वर्षअघि ट्र्याक खुलेको यो सडकमा एकवर्ष अगाडिसम्म हिँडडुल गर्न निकै समस्या थियो। हाल चिल्लो सडकमा हिँड्न र गुड्न पाउँदा स्थानीयवासी मक्ख छन्। 

यसअघि कुनै पनि कामले सहर जानु परे बस चढ्न यहाँका स्थानीयले चाँगुनारायण नगरपालिका‐९ ताथली वा काभ्रेको साँगा पुग्नुपर्थ्यो। वर्षौंपछि सडक स्तरोन्नति भएको स्थानीय ७० वर्षीय गोपाल खड्काले सुनाए। “म जन्मेदेखि नै गोरेटो बाटो थियो, पछि फराकिलो बन्यो तर स्तरोन्नति नहुँदा हिलाम्मे सडकमा सवारी साधन गुड्न त परै जाओस् वर्षामा पैदल हिँड्न पनि मुस्किल थियो,” उनले भने, “अहिले त कालो चिल्लो सडकमा हिँड्न पाएका छौँ।”

२०६३ सालमा ट्रयाक खेलेको यो सडकले यस वर्ष कालोपत्र भएर पूर्णता पाएको स्थानीय नवीनकुमार खड्काले बताए। सडक कालोपत्र भएसँगै यहाँका तीन हजार ५०० बासिन्दाको दैनिकी सहज बनेको छ। सडक स्तरोन्नति भएपछि गाउँमा उत्पादित तरकारी, दूधजन्य पदार्थ बजारमा बिक्रीका लागि लैजान निकै सहज भएको उनले बताए। काठमाडौँबाट तरकारी लिन गाउँमै गाडी आउन थालेका छन्। अब नियमित र भरपर्दो सार्वजनिक यातायातका साधन सञ्चालनका लागि नगरपालिकासँग स्थानीयले अनुरोध गरेका छन्।  

सूर्यविनायक नगरपालिका सहरी पूर्वाधार विकास शाखाका प्रमुख एवं इन्जिनियर जनक न्यौपानेले काभ्रे साँगाबाट प्रवेश गरेसँगै शुरू हुने सूर्यविनायक नगरपालिका‐१० भंगाल हुँदै खड्कागाउँ, सल्लाघारी चाँगुनारायण नपा‐९ ताथली जोड्ने ग्रामीण रिङरोड सडकको कालोपत्र र ढलान गर्ने कार्य सम्पन्न गरिएको बताए।  

सुक्खा मौसममा आउजाउ गर्न गाह्रो हुने भएकाले यहाँ बिरामी हुँदा अस्पताल जान एम्बुलेन्ससमेत आउन नसक्ने अवस्था थियो। अघिल्लो वर्ष एक करोड २४ लाखको लागतमा दुईवटा पुल निर्माण र गत वर्ष कालोपत्रको काम सम्पन्न भएको न्यौपानेले बताए। संघीय सरकार र नगरपालिकाको बजेटसहित कूल तीन करोड लागतमा ६ मिटर चौडा तथा ३.५ किलोमिटर सडकलाई कालोपत्र र उकालोमा ढलान गरिएको जानकारी दिए।   

दुर्गम भनिएको यस क्षेत्रमा चक्रपथसँगै नगरपालिकाले खानेपानीको अभाव हटाउन ६० लाख रुपैयाँ लागतमा घरघरमा धारो वितरणको व्यवस्था गरेको छ।  वडा नं १० का वडाध्यक्ष शिवराम राउतले ४० वर्ष अगाडि ट्र्याक खुलेको सडकमा कालोपत्र गर्न सफल भएको बताए। 

यस वडामा ६० प्रतिशत सडक, खानेपानी तथा पूर्वाधारको काम सम्पन्न गरेको र बाँकी ४० प्रतिशत काम तीन वर्षभित्र पूरा गर्ने लक्ष्य राखेको छ। यसैगरी यहाँ निकै समस्याका रूपमा रहेको खानेपानी अभाव हटाउन बृहत् भंगाल खानेपानी आयोजना र भेतासी खानेपानी आयोजना गरी दुईवटा खानेपानी आयोजना सञ्चालन गरिएको छ। खानेपानीको स्रोत नहुँदा लिफ्टिङ खानेपानी आयोजना शुरू गर्न लागिएको वडाध्यक्ष राउतले जानकारी दिए। 

चारवटा विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक  भवन बनाएको वडा कार्यालयले नगरको एक करोड रुपैयाँ लागतमा राधाकृष्ण मन्दिर निर्माण सम्पन्न गरेको छ। यही मन्दिरमा महायज्ञ लगाएर एक करोड संकलन गरिएको थियो। वडा कार्यालय पछाडि ५० रोपनी जग्गामा उपत्यकाकै पहिलो नमूना चिया बगान निर्माण गर्न लागिएको पनि वडाध्यक्ष राउतले बताए।