५९.६८ अंकले बढ्यो नेप्से, १५ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक ५९.६८ अंकले उकालो लागेर २४२४.३२ को विन्दुमा पुगेको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झन्डै ६० अंकले उकालो लागेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार यो साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ५९.६८ अंकले उकालो लागेर २४२४.३२ को विन्दुमा पुगेको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.३७ अंकले उकालो लागेर ४३६.१४ मा पुगेको छ।

नेप्सेका अनुसार बिहीबार कुल तीन करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर १५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँ कारोबार भयो।

नेपाल इन्भेस्टमेन्ट मेघा बैँक, नेपाल फाइनान्स लिमिटेड, आँखुखोला जलविद्युत् कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था तथा थ्रि स्टार हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

यस्तै, कुमारी सबल योजना ५.७६, सिन्धु विकास बैंक ४.५७, गुहेश्वरी मर्चेन्ट ४.२२, एनसीसी डिवेन्चर ३.९३ र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ३.९० प्रतिशतले गुमाए।