सेनाको प्रष्टीकरणा– रथी सिग्देलको जन्ममिति र नागरिकतामा कैफियत छैन

भावी प्रधानसेनापतिको लाइनमा रहेका नेपाली सेनाका रथी अशोक सिग्दलेका विषयमा सार्वजनिक भएका विवरणमा कुनै सत्यता नभएको नेपाली सेनाले दाबी गरेको छ।

काठमाडौँ– भावी प्रधानसेनापतिको लाइनमा रहेका नेपाली सेनाका रथी अशोक सिग्दलेका विषयमा सार्वजनिक भएका विवरणमा कुनै सत्यता नभएको नेपाली सेनाले दाबी गरेको छ।

बिहीबार सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले रथी सिग्देलको नागरिकता र जन्ममिति लगायतका विषयमा सार्वजनिक भएका विवरण सत्य नभएको बताए। उनले सिग्देलको जन्ममिति र नागरिकतामा कुनै कैफियत नभएको भन्दै पत्रकार सम्मेलनमा सिग्देलले लिएको नागरिकता, त्यसको प्रतिलिपि र शैक्षिक कागजातको विवरण नै सार्वजनिक गरेका थिए।

सेनाले सार्वजनिक गरेको विवरण अनुसार रुपन्देहीबाट जारी भएको नागरिकता र जाजरकोटबाट लिइएको प्रतिलिपिमा एउटै नागरिकता नम्बर रहेको र जाजरकोटबाट लिइएको प्रतिलिपिमा पनि पहिले नागरिकता लिँदाकै जारी मिति उल्लेख गरिएको छ। सैनिक प्रवक्ता केसीले रुपन्देहीबाट २०४० साउन २९ मा लिएको नागरिकता नम्बर ६८९२७ र जाजरकोटबाट लिइएको प्रतिलिपिमा पनि जारी मिति पुरानै र नागरिकता नम्बर पनि उही उल्लेख गरिएको बताए।

त्यस्तै, एसएलसी र प्रविणता प्रमाणपत्र तहमा पनि एउटै जन्ममिति उल्लेख भएको उनले जानकारी दिए। पत्रकार सम्मेलनमा सञ्चारकर्मीले भावी प्रधानसेनापतिका विषयमा सार्वजनिक भएका विषयमा सेनाले कुनै आधिकारिक धारणा नराखेको भन्दै प्रश्न गरेपछि प्रवक्ताले प्रष्ट पारेका हुन्। बाहिर विभिन्न विषय सार्वजनिक भइसकेपछि सम्पूर्ण कागजातको अध्ययन गरेर रुजु गरेपछि मात्रै सरकारले रथीमा बढुवा गर्ने निर्णय गरेको उनले जानकारी दिए।

प्रधानसेनापति प्रभुराम शर्माले तीन वर्षे पदावधि अनुसार भदाै २४ मा अवकाश पाउँदैछन्। अवकाशमा जानुअघि साउन २४ बाट उनी बिदा बस्नेछन्। त्यसपछि सेनाको एक नम्बरमा रहेका बलाधिकृत रथी अशोक सिग्देल प्रधानसेनापति बन्ने छन्। शर्मा बिदामा बस्नुअघि सिग्देललाई कायममुकामय प्रधानसेनापतिको जिम्मेवारी दिने तयारी छ।