निर्वाचन आयोगले आगामी मसिर ४ गते हुने निर्वाचनका लागि स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा जुलुस, आमसभा वा भेला गर्न रोक लगाएको छ।
काठमाडौँ- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता-२०७९ लाई कार्यान्वयनमा लगेको छ। आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आयोगले मंगलबार मध्यरातिबाट आचारसंहिता लागू गरेको हो।
निर्वाचन आउन ५३ दिन बाँकी छ। देशभर एकैचरणमा निर्वाचन हुनेछ।
निर्वाचनमा मंसिर ३ गतेसम्म १८ वर्ष पुगेका मतदाताले मतदान गर्ने छन्। निर्वाचन आयोगका अनुसार १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता मंसिर ३ गतेसम्ममा मतदान गर्न योग्य हुने छन्। जसमध्ये ८८ लाख ४७ हजार ५७९ महिला छन्, ९१ लाख ४० हजार ८०६ पुरुष छन् भने १८५ जना अन्य छन्।
निर्वाचन आचारसंहिता भदौ १३ गते राजपत्रमा प्रकाशित भइसकेको छ। निर्वाचनमा स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आयोग ऐन २०७३ को दफा २२ले दिएको अधिकार प्रयोग गर्दै निर्वाचन आचारसंहिता बनाएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित १२ राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिले निर्वाचन आचारसंहिता-२०७९ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै हस्ताक्षर गरेका छन्।
आचारसंहिता लागू भएपछि प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै प्रचारप्रसार गर्न पाउनेछन्। यसमा राजनीतिक दलहरूले असहमति जनाएका थिए। आयोगको अनुमति लिएर चुनाव प्रचारमा जान दिनुपर्ने दलहरूको माग छ।
त्यस्तै, स्थानीय तहका कार्यपालिका सदस्यहरूले पनि चुनावमा प्रचारप्रसार गर्न पाउने छैनन्। अब शिलान्यास, उद्घाटन, सर्वेक्षण, सम्भाव्यता अध्ययन र अनुदानका कार्यक्रम गर्न पाइने छैन। त्यस्तै, राजनीतिक नियुक्त, नयाँ पद सिर्जना, पदपूर्ति, भत्तावृद्धि, आर्थिक सुविधा तथा पुरस्कार प्रदान गर्नसमेत पाइने छैन।
राजनीतिक दल, उम्मेदवार दलको भ्रातृ संगठनले जुलुस आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य तथा अनुशासित तरिकाले गर्नुपर्ने र कसैको घरको आसपासमा गई परिवारका सदस्यको विरोध वा प्रदर्शन गर्न नहुने आचारसंहितामा उल्लेख छ।
त्यस्तै, स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा वा भेला गर्न नहुने, भेला गर्नु परे कम्तिमा २४ घण्टाअगावै स्थानीय प्रशासन वा प्रहरीलाई मिति, समय, मार्ग, स्थानबारे जानकारी गराउनुपर्ने छ।
जुलुस वा आमसभामा भाग लिने वा प्रसारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकीत लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने तर उम्मेदवारले कागजमा आफ्नो तथा राजनीतिक दलको पहिचानको विवरण खुलाइएको पर्चा वितरण गर्न बाधा हुने उल्लेख छ।
त्यस्तै, कुनै राजनीतिक दल उम्मेदवार वा दलको भ्रातृ संगठनले आयोजना गरेको कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने, एकै समयमा एकभन्दा बढी दलले एकैठाउँ भेला तथा कोणा सभा गर्न नहुने, कानुनले निषेध गरेका सामग्री लिएर जुलुसमा जान नपाइने पनि आचारसंहितामा उल्लेख छ।
त्यस्तै, जुलुस तथा आमसभा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने छ। निर्वाचन प्रसारप्रसारमा बालबालिकाको प्रयोग गर्न पाइने छैन। निर्वाचन प्रयोजनका लागि ७५ ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रंग र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्न पाइने छ।
निर्वाचनमा उम्मेदवारीको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक समर्थकसहित २५ जनाभन्दा बढी जुलुस लिएर जान जान पाइने छैन । बाजागाजा तथा झाँकी पनि लान नपाइने आचारसंहितामा उल्लेख छ।
त्यस्तै, सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने अहुका सवारी साधन तथा त्यस्ता सवारी सधान नचल्ने ठाउँमा चारवटा घोडा प्रयोग गर्न पाइने छ। तर, विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमति नदिइने आयोगले जनाएको छ।
राष्ट्रिय झण्डा प्रयोग गर्न पाइने छैन भने पार्टीका अधिकतम १० वटा झण्डा प्रयोग गर्न सकिने छ। निर्वाचनमा भाग लिने राजनीतिक दलदेखि कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापकलगायत सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने हुन्छ।
के गर्न पाइँदैन?
- सरकारी वा अर्धसकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने,
- आयोगद्वार सञ्चालित निर्वाचन व्यवस्थापन र मतदाता शिक्षालगायत अन्य कार्यक्रममा कुने पनि किसिमले अवरोध हुने गरी कुने पनि कार्य गर्न वा निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने,
- कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउने नहुने,
- राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकीत ज्याकेट, कमिज, भेस्ट, टि-सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुने किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याज ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न प्रयोग गर्न बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने,
- घर वा जग्गा धनीको स्वीकृति नलिई कसैको निजी वा संस्थागत स्वामित्वको घरजग्गा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न वा गराउन नहुने,
- ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या गर्ने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने,
- बालबालिकालाई निर्वाचन प्रसाचरप्रसारमा प्रयोग गर्न वा गराउन नहुने,
- प्रचलित कानुनबमोजिम निषेध गरिएको समयमा स्थानमा कुनै किसिमको जुलुस आमसभा, कोणसभा, बैठक भेला वा निर्वाचन प्रसारप्रसार गर्न वा गराउन नहुने,
- सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने,
- सामाजिक सञ्जालमा गलत भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने,
- निर्वाचन प्रतिकूल प्रभाव पर्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न वा सञ्जालन गर्न वा गराउन नहुने,
- सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण गर्नेजस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नहुने,
- कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा गराउन नहुने,
- निर्वाचनको विश्वनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पार्ने गरी कुनै अवाञ्छित लाञ्छाना लगाउन नहुने,
- कसैको चरित्र हत्या गर्ने, व्यक्तिगत लाञ्छाना लगाउने, मनाहानि गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न वा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन र प्रशासर गर्न गराउन नहुने,
- उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने,
- निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न प्रचारप्रसार गर्न कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने,
- कुनै पनि किसिमले मतदाताको गोप्यता भंग गर्ने कार्य गर्न नहुने,
- मदाता र मतदानमा खटिएका कुनै पनि कर्मचारीसँग विवाद गर्न वा उनीहरूलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नहुने,
- कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
