जेठ २८ गतेयता बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या १२५ पुग्यो

प्रहरीका अनुसार जेठ २८ गतेयता बाढीका कारण १८२ घर डुबानमा परेका छन् भने २२२ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ।

काठमाडौँ– गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायत विपद्मा परी बिहीबार दिउँसोसम्म १२५ जनाको मृत्यु भएको छ।

विपद्मा परी काठमाडौँमा दुई, कोशी प्रदेशमा २२, मधेश प्रदेशमा पाँच, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा १२५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार विपद्मै परी काठमाडौँमा आठ, कोशी प्रदेशमा ३४, मधेश प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा १४ गरी जम्मा १४३ जना घाइते भएका छन् । 

यसैगरी कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ। बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, मधेश प्रदेशमा एक, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी आठ जना बेपत्ता भएको प्रवक्ता कार्कीले बताए। “बाढी पहिरोलगायत विपद्मा परी बेपत्ता भएकाको खोजी भइरहेको छ,” उनले भने।

विपद्मा परी ज्यान गुमाएकाहरूको विवरणमा सिमलताल दुर्घटनामा बेपत्ता भएकाको तथ्यांक समावेश नगरिएको प्रहरीले जनाएको छ। 

बाढीको कारण १८२ घर डुबानमा परेका छन्। २२२ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ। विपद्मा ५८५ वटा पशुचौपाया मरेका छन्। उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ७२१ परिवार विस्थापित भएका छन्।