ताप्लेजुङको फक्ताङलुङमा पहिरो, पालिका कार्यालयमा क्षति

गाउँपालिका केन्द्र रहेको वडा नं ५ तापेथोकमा गएको पहिरोले पालिका कार्यालय, तालिम सञ्चालन गर्ने भवन र स्थानीय सुवास ताप्मादेनको घरमा सामान्य क्षति पुर्‍याएको छ।

तस्वीर: फक्ताङलुङ गाउँपालिका अध्यक्ष मुक्ति लिम्बू।

काठमाडौँ– अविरल वर्षासँगै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा बिहीबार राति पहिरो गएको छ।  

गाउँपालिका केन्द्र रहेको वडा नं ५ तापेथोकमा गएको पहिरोले पालिका कार्यालय, तालिम सञ्चालन गर्ने भवन र स्थानीय सुवास ताप्मादेनको घरमा सामान्य क्षति पुर्‍याएको सो वडाका अध्यक्ष देउप्रसाद लिम्बूले जानकारी दिए। 

“भाडामा रहेको पालिका भवनसहित अन्य दुई वटा घरमा पहिरोको लेदो पसेको छ। केही मोटरसाइकल पुरेको छ। स्थानीयको मकैलगायतका बालीनालीमा क्षति पुर्‍याएको छ,” उनले उकालोसँग भने, “मानवीय क्षति भए भएको छैन।” पहिरोले तापेथोक हुँदै लेलेप-ओलाङचुङगोला जोड्ने सडक पनि अवरुद्ध भएको छ।

वडाध्यक्ष लिम्बूका अनुसार बेलुका आठ बजेदेखि परेको मुसलधारे पानी राति दुई बजे मात्र रोकिएको थियो। त्यसपछि तीन बजेतिर खसेको पहिरो तमोर नदीसम्म नै पुगेको छ।

फक्ताङलुङ गाउँपालिका–२ मा गत जेठ ३१ गते राति गएको पहिरोले एकै घरका ४ जनाको मृत्यु भएको थियो।