बाढी र डुबानको प्रभाव अध्ययन गर्न विपद् प्राधिकरणको टोली कञ्चनपुरमा

प्रभावितको वास्तविक अवस्था बुझ्ने र विपद् व्यवस्थापनमा स्थानीयस्तरमा भएको अभ्यासबारे जानकारी लिन प्राधिकरणको टोली आइपुगेको विपद् व्यवस्थापन महाशाखा प्रमुख भुसालले जानकारी दिए।

कञ्चनपुर– कञ्चनपुरमा गत असार तेस्रो साता आएको बाढी र डुबानले परेको प्रभाव र प्रभावितको अवस्था बुझ्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली स्थलगत अध्ययन गर्न कञ्चनपुर आइपुगेको छ। प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल र विपद् व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालसहितको टोली जिल्ला आइपुगेको हो। 

प्रभावितको वास्तविक अवस्था बुझ्ने र विपद् व्यवस्थापनमा स्थानीयस्तरमा भएको अभ्यासबारे जानकारी लिन प्राधिकरणको टोली आइपुगेको विपद् व्यवस्थापन महाशाखा प्रमुख भुसालले जानकारी दिए। “कञ्चनपुरमा अहिलेसम्मकै धेरै पानी परेको रेकर्ड भएको छ,” उनले भने, “विपद्का बेला हामीले कस्तो अभ्यास गर्‍यौँ, अबको तयारी कस्तो छ, स्थानीय सरकार र प्रशासनबीचको समन्वय कस्तो रह्यो यो सबै बुझ्न हामी यहाँ आएका हौँ।” उनले बाढीबाट प्रभावित दोधारा चाँदनी नगरपालिकाका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्ने बताए।

गत असार २३ र २४ गते दोधाराचाँदनी वर्षा मापन केन्द्रमा ६२४ मिलिमिटर, बेदकोट नगरपालिका-३ को हनुमाननगर वर्षा मापन केन्द्रमा ५७३.६ मिलिमिटिर र बेदकोटकै सुन्दरपुर वर्षा मापन केन्द्रमा ५५५.८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो। उक्त रेकर्ड वर्षाको जल तथा मौसम विज्ञान विभागको टोलीले अध्ययन गरेर फर्किएको छ। विभागले वर्षा मापन शुरू गरेयताको यो नै उच्च हो। 

अब विकास निर्माण र बस्ती विस्तार गर्ने बेला सोच्नुपर्ने अवस्था आएको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए। “ठूला नदीको रोकथाममा मात्रै होइन साना नदीनालातर्फ पनि ध्यान दिनु आवश्यक छ,” उनले भने, “स्थानीय तह र प्रशासन मिलेर क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुट्नुपर्छ।” उनले कतिपय नदीको सतह बस्तीभन्दा अग्लो भएका कारण बाढीले बढी क्षति गरिरहेको बताए। असार २३ र २४ गते आएको बाढीले कञ्चनपुर एक हजार ४६५ परिवारका पाँच हजार ७६६ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ।

सोमध्ये अझै पनि २५ परिवारका ९० जना घर फर्किन सकेका छैनन्। “जिल्लामा बाढी र डुबानका कारण कति क्षति भयो भन्ने यकिन विवरण अझै संकलन भइसकेको छैन,” प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले भने, “त्यति बेला जिल्लाको ७१ प्रतिशत भू–भाग डुबानमा परेको थियो, सबैक्षेत्र जोखिममा थियो, धेरै क्षति भएको छ ।” उनले अहिले पनि विवरण संकलनको काम भइरहेको बताए। रासस