स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङ १ हजार ५५८ मतले अगाडि

शुक्रबार साँझसम्मको गणनाअनुसार गुरुङले १८ हजार १९ मत प्राप्त गर्दा अर्यालले १६ हजार ४६१ मत ल्याएकी छन्।

स्याङ्जा– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायम रहेको छ। कांग्रेस उम्मेदवार गुरुङ नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा एक हजार ५५८ मतले अगाडि छन्।

शुक्रबार साँझसम्मको गणनाअनुसार गुरुङले १८ हजार १९ मत प्राप्त गर्दा अर्यालले १६ हजार ४६१ मत ल्याएकी छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले छ हजार चार सय ९० मत ल्याएका छन।

कूल ७० हजार एक सय ९१ मत खसेको क्षेत्र नं २ मा साँझसम्म ४३ हजार आठ सय १६ मतगणना भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए। मतगणना भएको मतमध्ये ४२ हजार ३४५ मत सदर भएको छ भने एक हजार ४७१ मत बदर भएको हो।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका–१, ६ र ७ भिरकोट नगरपालिका–५, ६, ७, ८ र ९ वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ तथा कालीगण्डकी गाउँपालिका–१, २, ३, ४, ५, ६ र ७ को मगतणना सकिएको छ।

त्यस्तैगरी, स्याङ्जा क्षेत्र नं २ (२) मा नेकपा एमालेका बुद्धिमान श्रेष्ठले अग्रता कायम गरेका छन्। कालीगण्डकी गाउँपालिकाका सातवटा वडाको मतगणना सकिँदा श्रेष्ठ एक हजार ६४ मतले अगाडि छन्। एमाले उम्मेदवार श्रेष्ठले पाँच हजार ५०४ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार महेश भट्टराईले चार हजार ४४० मत ल्याएका छन्। 

हालसम्म १० हजार ७८६ मतगणना सकिएको छ भने १० हजार ६४३ मत सदर, १४३ मत बदर भएको छ।