२४ खर्ब ३४ अर्ब नाघ्यो सरकारी ऋण, वर्षमै थपियो १ खर्ब ३४ अर्ब

कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको दायित्व ११ खर्ब ८० अर्ब ९० करोड र बाह्य ऋणको दायित्व १२ खर्ब ५२ अर्ब ३३ करोड पुगेको छ।

काठमाडौँ– नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ३ करोड रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २०८०/८१ मा १ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ सरकारी ऋण थपिएको छ।

कार्यालयका अनुसार २०८० साउनमा २२ खर्ब ९९ अर्ब ३५ करोड रहेको सरकारी ऋण २०८१ असार मसान्तसम्म बढेर २४ खर्ब ३४ अर्ब नाघेको हो। वैदेशिक मुद्राको समायोजनपछि बाँकी ऋण दायित्व २४ खर्ब ३३ अर्ब २३ करोड छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) का आधारमा सार्वजनिक ऋण ४२. ६५ प्रतिशत बराबर हो। 

कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको दायित्व ११ खर्ब ८० अर्ब ९० करोड (जीडीपीको २०. ७० प्रतिशत) र बाह्य ऋणको दायित्व १२ खर्ब ५२ अर्ब ३३ करोड (जीडीपीको २१. ९५ प्रतिशत) पुगेको छ।

२०८०/८१ मा सरकारले जम्मा ४ खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा असार मसान्तसम्ममा ३ खर्ब ५८ अर्ब दुई करोड ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ। वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७९.०८ प्रतिशत छ। 

ऋण परिचालनका लक्ष्यमध्ये आन्तरिक ऋण प्राप्ति ९७.६८ र बाह्य ऋण ५८.१० प्रतिशत छ। आन्तरिकतर्फ २ खर्ब ४० अर्ब ऋण उठाउने लक्ष्य रहेकोमा २ खर्ब ३४ अर्ब ४२ करोड उठाइएको छ। बाह्यतर्फ २ खर्ब १२ अर्ब ७५ करोड ऋण उठाउने लक्ष्य रहेकोमा १ खर्ब २३ अर्ब ६० करोड बराबर उठाइएको हो।

यस्तै, गत आर्थिक वर्षमा ऋण सेवा खर्चका लागि ३ खर्ब ३० अर्ब वार्षिक बजेट विनियोजन भएकोमा ३ खर्ब ५ अर्ब ३७ करोड भुक्तानी भएको छ।