तस्वीरमा ललितपुर ‘कोरा साइकल च्यालेन्ज’

आपसी सद्भाव र सहकार्य बढाउने उद्देश्यसहित ललितपुरको पाटन दरबार क्षेत्रबाट कोरा साइकल प्रतिस्पर्धा (कोरा २०२४) शुरू भएको छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– कोरा साइकल प्रतिस्पर्धा (कोरा साइकल च्यालेन्ज)को १४औँ संस्करण शुरू भएको छ। आपसी सद्भाव र सहकार्य बढाउने उद्देश्यसहित ललितपुरको पाटन दरबार क्षेत्रबाट कोरा प्रतिस्पर्धा (कोरा २०२४) शुरू भएको हो।

यो प्रतिस्पर्धाबाट साइकलको प्रयोग बढाउन सहयोग पुग्ने अपेक्षा गरिन्छ। साथै, सहयोगसमेत संकलन पनि गरिन्छ। यसपटक संकलन गरिएको सहयोग बाँकेको नेपालगन्जस्थित पम्प ट्याकको स्तरोन्नतिमा प्रयोग गरिने आयोजकको भनाइ।

ललितपुर र काठमाडौँका विभिन्न स्थानको परिक्रमा गर्दै कोरा प्रतिस्पर्धाको आयोजना गर्ने गरिन्छ। यो पटकको कोरा प्रतिस्पर्धामा करिब पाँच हजार जना सहभागी भएको आयोजकले दाबी गरेको छ। 

बौद्ध र हिन्दु धर्ममा कुनै पवित्र तीर्थस्थललाई घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई ‘कोरा’ भनिन्छ। कोरा साइकल प्रतिस्पर्धामा काठमाडौँ उपत्यकाका प्रमुख धार्मिकस्थलको घडीको सुईको दिशामा परिक्रममा गरिन्छ।

सन् २०११ देखि हरेक वर्ष आयोजना गरिँदै आएको कोरा प्रतिस्पर्धा पाटनको मंगलबजारबाट शुरू भई काठमाडौँ उपत्यकाको एक फन्को लगाएर पाटनकै नागबाहालमा अन्त हुने गर्छ। यस क्रममा साइकलयात्रीले इच्छाअनुसार ५० किलोमिटर, ७५ किलोमिटर, १०० किलोमिटर या १४० किलोमिटरसम्मको दूरी तय गर्छन्।