वर्षा शुरू भएसँगै ढोरपाटन पुग्ने अधिकांश भागमा बाढीपहिरो र स्तरोन्नतिका कारण सडक बिग्रिदा पर्यटकले सास्ती खेप्नु परेको छ। ढोरपाटनको प्रवेशद्वार बुर्तिबाङ बजारबाट उकालो लाग्नासाथ पर्यटकलाई सास्ती छ।
बागलुङ– यतिबेला ढोरपाटन क्षेत्र हरियाली भएका छन्। उपत्यकासहित चारै तिरका पहाड र समथर मैदानमा फुलेका रंगीन फूलले आगन्तुकलाई स्वागत गरिरहेका देखिन्छन्। प्रकृतिसँग रमाउन यो याममा धेरै आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन पुग्ने गर्छन्।
वर्षा शुरू भएसँगै यहाँ पुग्ने अधिकांश भागमा बाढीपहिरो र स्तरोन्नतिका कारण सडक बिग्रिदा पर्यटकले सास्ती खेप्नु परेको छ। ढोरपाटनको प्रवेशद्वार बुर्तिबाङ बजारबाट उकालो लाग्नासाथ पर्यटकलाई सास्ती छ।
ढोरपाटन पुग्न राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडकको प्रयोग गर्नुपर्छ। यसबाहेक ढोरपाटन पुग्ने विकल्पका सडक अहिलेसम्म निर्माण भएका छैनन्। बुर्तिबाङबाट ढोरपाटन पुग्न ३२ किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ।
सरकारले दुई वर्षअगाडि उक्त खण्डको करिब २२ किमी सडक स्तरोन्नति गर्ने भन्दै ठेक्का लगाए पनि हालसम्म काम हुन सकेको छैन।
निर्माण कम्पनीले समयमै काम नगर्दा ढोरपाटन पुग्ने पर्यटकले सास्ती खेप्नु परेको हो। नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन सदाबहार सुन्दर देखिए पनि वर्षामा यहाँ पुग्ने कतिपय पर्यटक बीच बाटोमै अलपत्र पर्ने अवस्था भएको ढोरपाटन नगरपालिका–९ का गमबहादुर पुनले बताए।
“यो बेला चारैतिर हरियाली हुने हुँदा धेरै पर्यटकका यहाँ पुग्न रुचाउँछन्। सडकको दुरावस्थाका कारण आगन्तुक सहज रूपमा यहाँ पुग्न सक्दैनन्। बुर्तिबाङबाट बोबाङ गाउँसम्म जसोतसो यात्रा गरे पनि त्यस भन्दामाथि यात्रा गर्न निकै कठिन छ,” उनले भने।
साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारीसाधन ढोरपाटन पुग्नै सक्दैनन्। यस बेला अधिकांश पर्यटक मोटरसाइकल र जिपमा यात्रा गर्दछन्।
कतिपय स्थानमा पहिरो जाने, स्तरोन्नति नहुँदा बिग्रिनेलगायत समस्याले कतिपय पर्यटक बीच बाटोमै अलपत्र पर्ने गरेका पुनले बताए। हिउँदको समयमा पनि यातायातका साधन सहज रूपमा सञ्चालन हुन नसक्ने भन्दै बर्खामा अझ बढी सास्ती हुने उनको भनाइ छ।
ट्र्याक खुलेको लामो समय बितिसक्दा एक पटक पनि स्तरोन्नति हुन नसक्दा सबैभन्दा बढी समस्या स्थानीय र पर्यटकले भोग्नु परेको पुनले उल्लेख गरे।
“ढोरपाटन घुम्ने भनेर टाढाटाढाबाट पर्यटक आउँछन्, बाटोको अवस्थाले कोहीको सवारीसाधन बिग्रिन्छ, अनि बीच बाटोमा गाडी बिग्रिदा धेरै पर्यटक अलपत्र पर्ने गर्छन्,” पुनले भने, “सरोकार भएका निकाय तथा राज्यले ठेकदारलाई समयमा सडक मर्मत गर्न दबाब दिनुपर्ने थियो। आलु, स्याउलगायत यहाँका कृषि उत्पादन बजारसम्म पुर्याउन सहज बाटो नहुँदा ढुवानी खर्च धेरै तिर्नुपर्छ, यात्रा पनि ज्यान जोखिममा राखेर गर्छौं।”
तराई र पहाडलाई जोड्ने गरी रुपन्देहीको सालझण्डीबाट अर्घाखाँची हुँदै बागलुङ ढोरपाटन जोड्ने उक्त खण्ड विसं २०७१ मा ट्र्याक खुलेको थियो। बडिगाडको गङ्गरेबाट ढोरपाटनसम्म ६१ किलोमिटर सडक बागलुङमा पर्दछ। सालझण्डीबाट ढोरपाटनसम्म एक सय ९७ किलोमिटर रहेको छ।
बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नं १ देवीस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतिका लागि तीन वर्ष अघि ठेक्का सम्झौता भएको थियो।
सम्झौता मिति सकिँदासम्म जम्मा ३० प्रतिशत मात्रै काम भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका प्रमुख अन्जु परियारले जानकारी दिइन्।
आयोजना कार्यालयले बुर्तिबाबाट फल्लेघरसम्मको सडक स्तरोन्नति गर्न स्वच्छन्द/ओमबुद्ध जेभीसँग ३० महिनामा सक्ने गरी २५ करोड रुपैयाँको सम्झौता भएको थियो। सडक स्तरोन्नति समयमै सक्न निर्माण कम्पनीलाई ताकेता गर्दागर्दै म्याद सकिएको उनले बताए।
निर्माण कम्पनीले आगामी पुस मसान्तसम्मका लागि म्याद थप गरेको भन्दै उक्त समयमा नसके सम्झौता रद्द गर्ने तयारी गरिएको प्रमुख परियारले बताइन्।
“निर्माण कम्पनीले शुरूको चरणमा तीव्र गतिमा काम गरेको थियो, पछिपछि काम गरेन, कार्यालयले नियमअनुसार पत्र लेखी ताकेता गरिरहेको छ,” उनले भने, “पुससम्म म्याद थप गरेको छ, सो अवधिसम्म काम नसके ठेक्का तोडिन्छ। बजेट अभावका कारण निर्माण कम्पनीले काम गरेको एक करोड रुपैयाँ भुक्तानी गर्न सकिरहेका छैनौँ।”
ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायत (कल्याण) ले सडक समयमा नबन्दा यहाँका हजारौँ नागरिक र आगन्तुकले सास्ती खेप्नु परेको बताए। निर्माण कम्पनीलाई समयमा काम सक्न पालिकाले सघाउँदा पनि काम नगरेको उनले गुनासो गरे।
संघीय सरकार मातहतको आयोजना हुँदा नगरपालिकाले काम गर्न नमिल्ने भन्दै बाढीपहिरोका कारण समय–समयमा सडक बन्द हुँदा खुलाउने काम भने गर्दै आइएको कायतले जानकारी दिए। सडकका कारण ढोरपाटन आउने हजारौँ पर्यटक बुर्तिबाङबाटै फर्कने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
