माइक्रोसफ्टमा आएको समस्याबाट प्रभावित विश्वभरको हवाई सेवा लयमा फर्किँदै

साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकले माइक्रोसफ्ट विन्डोजलाई असर गर्ने त्रुटिपूर्ण सफ्टवेयर अद्यावधिक गर्दा विश्वव्यापी रूपमा देखिएको प्राविधिक समस्याका कारण बैंक तथा हवाई सेवा प्रभावित भएका थिए।

तस्वीर : एपी

माइक्रोसफ्ट प्रोग्रामको एन्टीभाइरस अद्यावधिकका क्रममा विश्वव्यापी प्राविधिक अवरोधका कारण प्रभावित बैंक, वित्तीय संस्था, एयरलाइन्स लगायतका सेवा शनिबारबाट बिस्तारै लयमा फर्किन थालेका छन्। एन्टीभाइरस अद्यावधिकको समयमा शुक्रबार विश्वव्यापी रूपमा आएको प्राविधिक अवरोधपछि दर्जनौँ उडान रद्द भएका थिए भने बैंक तथा वित्तीय क्षेत्र पनि प्रभावित भएको थियो। 

एशियाका हङकङ, दक्षिण कोरिया र थाइल्यान्डलगायतका विमानस्थलले चेक–इन सेवा पुनः शुरू गरेका छन् भने भारत, इन्डोनेसिया, सिंगापुरका विमानस्थलले शनिबारसम्म सामान्य अवस्थामा फर्किने बताएका छन्।

थाइल्यान्डका विमानस्थलमा चेक–इन प्रणाली सामान्य अवस्थामा फर्किएको राष्ट्रपति किराती किटमानावतले बताएका छन्। 

साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकले माइक्रोसफ्ट विन्डोजलाई असर गर्ने त्रुटिपूर्ण सफ्टवेयर अद्यावधिक गर्दा बिहीबार विश्वव्यापी प्राविधिक समस्या शुरू भएको माइक्रोसफ्टको भनाइ छ।

क्राउडस्ट्राइकले उत्पन्न समस्याको समाधान भएको बताउँदै कम्पनीका सञ्चालक जर्ज कुर्ट्जले प्रभावित सबै निकायसँग माफी मागेको अमेरिकी समाचार च्यानल सीएनबीसीले जनाएको छ।

क्राउडस्ट्राइकले समस्याबाट प्रभावितसँग सम्पर्कमा रही आवश्यकताअनुसार सहयोग प्रदान गर्न तयार भएको अमेरिकी राष्ट्रपति जो बाइडेनको टोलीले विज्ञप्तिमार्फत जनाएको छ। 

बेलायतको स्काइ समाचार संस्थाले समाचार प्रसारणमा आएको समस्या समाधान भएको बताएको छ।

अस्ट्रेलियाको बीसीले पनि प्रसारणमा समस्या आएको रिपोर्ट गरेको थियो। अस्ट्रेलियामा सेवा हाल सामान्य लयमा फर्केको भए तापनि सिड्नी एयरपोर्टले अझैसम्म उडानमा ढिलाइ भइरहेको बताएको छ।

केन्या र युक्रेनका बैंकिङ एवं अन्य सेवामा आएको प्राविधिक समस्याले धेरै ग्राहक प्रभावित भएको गुनासो गरेको थियो। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले सबै उडान बन्द गर्ने आदेश दिएको थियो यद्यपि एयरलाइन्सले पछि आफ्ना सेवा पुनः स्थापना गरिरहेको जनाएको छ। 

भारतीय एयरलाइन्स इन्डिगोले सामाजिक सञ्जाल एक्समार्फत समस्या समाधान भएको जनाएको छ।

यसैबीच चिनियाँ सरकारी मिडियाले बेइजिङका विमानस्थल तथा उडान सेवा विश्वव्यापी आउटेजले प्रभावित नभएको जनाएको छ।

युरोपमा बर्लिनलगायत प्रमुख विमानस्थलले पनि शुक्रबार सबै उडान स्थगित गरेका थिए भने हाल सेवा पुनः शुरू भएको बताएका छन्।

कम्पनीका सञ्चालक कुर्ट्जले शुक्रबार आएको समस्याबाट प्रभावित ग्राहकलाई मद्दत गर्न कम्पनीका कर्मचारी पूर्ण रूपमा परिचालन गरिएको विज्ञप्तिमार्फत उल्लेख गरेका छन्।

विश्वव्यापी रूपमा सफ्टवेयरमा आएको यस्तो समस्याले एकै समयमा धेरै सेवा प्रभावित हुन सक्ने भएकाले पूर्वाधारहरू सामान्य समस्याविरुद्ध लचिलो हुने गरी विकास गर्न आवश्यक रहेको बेलायतको योर्क विश्वविद्यालयका प्राध्यापक जोन म्याकडर्मिड बताउँछन्।