विपद्मा परी ज्यान गुमाउनेको संख्या १२८ पुग्यो, १४३ जना घाइते

विपद्का घटनाबाट तीन हजार ७७९ घरपरिवार विस्थापित भएका छन्। 

काठमाडौँ– देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढीपहिरो लगायतका विपद्मा परी शनिबार दिउँसोसम्म १२८ जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन शुरू भएको दिन जेठ २८ गतेयता बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा सात जना र सुदूरपश्चिम प्रदेशमा नौ जना गरी १२८ जनाले ज्यान गुमाएका हुन्।

यो अवधिमा काठमाडौँ उपत्यकामा आठ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा नौ जना, बागमती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १४३ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सुरक्षा निकायले यो अवधिमा कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा ६६ जनाको उद्धार गरेको छ। बाढी‍पहिरोमा परी कोशी प्रदेशमा दुई जना, मधेश प्रदेशमा एक जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी आठ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

बाढीको कारण जम्मा १८२ घर डुबानमा परेका छन् भने २२८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एउटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ७७९ घरपरिवार विस्थापित भएका छन्। त्यस्तै, ५८९ पशुचौपाय मरेका छन्।

बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।