बोलिभियामा सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु

बोलिभियामा हरेक वर्ष औसत एक हजार ४०० जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको छ। दुर्घटना मुख्यतया चालकको लापरबाही र पुराना सडकका कारण हुने गरेको छ।  

बोलिभियाको एन्डिज क्षेत्रको राजमार्गमा ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। अन्य १६ जना घाइते भएका छन्।  

मृतकमध्ये हालसम्म १४ जनाको मात्र पहिचान भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमध्ये एक जना चिलीका नागरिक छन्। अधिकारीहरूका अनुसार दुर्घटनामा दुवै सवारीका चालकको पनि मृत्यु भएको छ। 

दुर्घटनामा यस वर्षकै सबैभन्दा बढी मानवीय क्षति भएको ट्राफिक अधिकृत निलो टोरिकोले बताए। दुई दक्षिण अमेरिकी देशलाई जोड्ने व्यस्त व्यापारिक र पर्यटन मार्ग हुँदै बस चिलीतर्फ गइरहेको थियो। “प्रारम्भिक अनुसन्धानअनुसार ट्रकले बसलाई गलत लेनबाट ओभरटेक गर्न खोजेको देखिएको छ,” ट्राफिक अधिकृत टोरिकोले भने, “ट्रकले सवारी नियमको उल्लंघन गरेको र यो दुर्भाग्यपूर्ण दुर्घटना भएको देखिन्छ।”

उद्धारकर्ताले दुर्घटनाग्रस्त सवारी साधनमा फसेका शव निकाल्ने काम गरिरहेका छन्। बोलिभियामा हरेक वर्ष औसत एक हजार ४०० जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको सरकारी तथ्यांकले देखाएको छ। बोलिभियामा सडक दुर्घटना मुख्यतया चालकको लापरबाही र पुराना सडक र गाडीका कारण हुने गरेको देखिन्छ। 

अप्रिल ४ मा दक्षिणपश्चिमी बोलिभियाको व्यस्त सडकमा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो।