बांग्लादेशबाट काठमाडौँ आइपुगेका विद्यार्थी भन्छन्– स्थिति असहज छ

सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलनका कारण आठ सयभन्दा बढी नेपाली विद्यार्थीले बांग्लादेश छाडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

काठमाडौँ– बांग्लादेशमा आन्दोलन चर्किँदै गएपछि १७ जना नेपाली विद्यार्थी स्वेदश फर्किएका छन्। आइतबार नेपाली विद्यार्थी हवाई र स्थलमार्ग हुँदै काठमाडौँ आइपुगेका हुन्।

बांग्लादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा प्रदर्शन चर्किएपछि नेपाल सरकारले पहिलो चरणमा स्वदेश फर्किन चाहने १७ जना विद्यार्थीको उद्धार गरेको हो। नेपाल फर्कन चाहने अन्य विद्यार्थीलाई पनि ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्कमा आउन सरकारले आग्रह गरिएको छ।

सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलनका कारण आठ सयभन्दा बढी नेपाली विद्यार्थीले बांग्लादेश छाडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बांग्लादेश सरकारले शुक्रबार रातिदेखि देशभर कर्फ्यु लगाएको छ। त्यस्तै, सञ्चार सेवा, इन्टरनेट र टेलिफोनका सेवा विच्छेद गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा बांग्लादेशमा एक साताअघिदेखि शुरू आन्दोलन हिंसात्मक बन्दा अहिलेसम्म कम्तीमा सय जनाले ज्यान गुमाइसकेका छन्। साथै, बांग्लादेशका विभिन्न भागमा भएका प्रदर्शनीमा सयौँ जना घाइते भएको जनाइएको छ।

बांग्लादेशमा तीन हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ। आइतबार काठमाडौँ आइपुगेका नेपाली विद्यार्थीले ढाकामा सञ्चार विच्छेद रहेको र अवस्था संवेदनशील बन्दै गएको बताएका छन्।

आइतबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएकी दिलीपा सापकोटाले नेपाली दूतावास मजबुत नभएको दुखेसो गरिन्। “दूतावासका कर्मचारीले फोन नउठाउने, सम्पर्कमा नआउने र उद्धार गर्न ढिलाइ गरिरहनुभएको छ। यसो नगर्न अनुरोध गर्दछु,” उनले भनिन्।

दुई महिनाअघि बांग्लादेश पुगेकी सदीक्षा बस्नेतले आफूहरू असुरक्षित भएपछि नेपाल फर्किएको सुनाइन्। “ढाकाको अवस्था एकदमै संवेदनशील भइसकेको छ। निषेधाज्ञा शुरू भइसकेको छ। अवस्था चिन्ताजनक छ,” उनले भनिन्। 

अध्ययनरत कजेलमा बांग्लादेशी विद्यार्थीहरूलाई खोज्दै प्रहरी आउन थालेपछि आफूहरू डराएको उनले बताइन्। सञ्चारका साधन बन्द हुँदा घरमा सम्पर्क हुन पनि नसेको अवस्थामा तीनचार दिनअघि नै स्वदेश फर्किने कोशिश गरेको तर सम्भव नभएको सुनाइन्।

सदीक्षासँगै विमानस्थलमा उत्रिएकी महिमा फागोले होस्टलमा रहँदा गोलीको आवाज सुनेको बताइन्।