६१.६१ अंकले बढेको शेयर बजारमा १५ अर्ब माथिको कारोबार

आइतबार नेप्से परिसूचक २.५४ प्रतिशतले बढेर २४८५.९४ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ६१.६१ अंकले बढेको छ। नेप्से परिसूचक २.५४ प्रतिशतले बढेर २४८५.९४ को विन्दुमा कायम भएको हो।

आइतबार ३१५ कम्पनीका एक लाख ७७ हजार ४६७ पटकको कारोबारमा चार करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर खरिद बिक्री भएको छ। जसमा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.५३ अंकले उकालो लागेर ४४९.६८ मा पुगेको छ। यस दिन सबै समूहको उपसूचक हरियो देखिएको छ।

यस दिन कारोबारमा आएकामध्ये १८१ कम्पनीको शेयर मूल्य बढ्दा ५६ कम्पनीको घटेको छ। युनाइटेड मोदी हाइड्रो, समता घरेलु लघुवित्त र हिमालयन बैंक लिमिटेडको शेयर कारोबार सकारात्मक सर्किट स्तरमा भएको छ। त्यस्तै, सिक्लेस हाइड्रो पावरको शेयर कारोबारमा नकारात्मक सर्किट लागेको छ।

कारोबारका आधारमा सोल्टी होटल अगाडि छ। यो कम्पनीको ३४ करोडको शेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको ३० करोडको शेयर कारोबार भएको छ।