७३ जिल्लामा फैलियो डेंगी संक्रमण, उपत्यकामा २५५ जना संक्रमित

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण फैलिएको छ।

काठमाडौँ– पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेंगी संक्रमण बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार १५७ जनामा डेंगीको संक्रमण देखिएको छ।

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्न सक्ने र डेंगीको संक्रमण पनि बढ्न सक्ने आकलन गरिएको उनले बताए। उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण फैलिएको जानकारी दिए।

सबैभन्दा बढी काठमाडौँ जिल्लामा १९६ जनामा डेंगी देखिएको छ। त्यसपछि झापामा १२८ र चितवनमा ९२ जनामा संक्रमण देखिएको डा. दाहालले बताए। वर्षाका बेला पानी संकलन गरेर राख्ने, संकलन गरिएको पानीमा लामखुट्टे रहने भन्दै त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगीको संक्रमण बढेको उनले उल्लेख गरे।

उपत्यकामा २५५ जनामा संक्रमण
उपत्यकामा २५५ जनामा डेंगीको संक्रमण देखिएको छ। काठमाडौँमा १९६, भक्तपुरमा ३५ र ललितपुरमा २४ जनामा देखिएको हो। “पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ। त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगी रोग लाग्दछ,” रोग शाखाका प्रमुख डा. दाहालले भने। डेंगी संक्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरे।  

डेंगीबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेकाले आफ्नो घर वरिपरि तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउनेजस्ता कुरामा ध्यान दिनुपर्दछ। 

संक्रमितलाई कसरी हेरचाह गर्ने
संक्रमितलाई झुलभित्र मात्र आराम गराउने या सुताउने, संक्रमितको हेरचाहमा खटिँदा पूरा बाहुला भएको लुगा लगाउने, लामखुट्टे धूप, कोइला व लिक्विड बाल्ने, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने र घर वरपर पानी जम्न नदिनेजस्ता उपाय अपनाउनु डा. दाहालले जानकारी दिए।  

लक्षणहरू
उच्च ज्वरो आउने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, आँखाको गेडी बेस्सरी दुख्नु, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु तथा बान्ता हुनुजस्ता लक्षण देखा पर्दछन्। एक्कासि उच्च ज्वरो आउने, बान्तामा रगत देखा पर्ने, नाक वा गिजाबाट रगत, रक्तस्राव धेरै पेट दुखाइ, श्वासप्रश्वासमा समस्या र बेहोस हुनेजस्ता लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा जान मन्त्रालयले अनुरोध गरेको छ।