बागमतीको मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेशप्रमुख शर्माको आह्वान

आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि प्रदेशप्रमुख शर्माले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाएका हुन्।

काठमाडौँ– बागमतीका प्रदेशप्रमुख यादवचन्द्र शर्माले सरकार गठनका लागि आह्वान गरेका छन्। आइतबार प्रदेशप्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गरेका हुन्। 

आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि प्रदेशप्रमुख शर्माले सरकार गठनको प्रक्रिया अगाडि बढाएका हुन्। उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई साउन ८ गते साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्। 

“बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि माननीय प्रदेश प्रमुखज्यूसमक्ष आफ्नो दाबी मिति २०८१।०४।०८ गते मंगलबार बेलुका ५:०० बजे भित्र पेश गर्न आह्वान गर्नु भएको छ,” प्रदेशप्रमुखको कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।

प्रदेशप्रमुख शर्माले नयाँ सरकार गठन नहुन्जेल जम्कट्टेललाई काम चलाऊ मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन्। नेकपा एमालेले असार २४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए। नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल २०७९ पुस २५ गते एमाले, राप्रपालगायतका दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

यसैबीच कांग्रेस र एमालेले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा सरकार गठन गर्ने गरी दाबी पेश गर्ने तयारी गरेका छन्।