प्रधानमन्त्री ओलीले पाए दुईतिहाइ सांसदबाट विश्वासको मत

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा १८८ सांसदले मत दिएका छन् भने विपक्षमा ७४ मत परेको छ।

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइ सांसदबाट विश्वासको मत प्राप्त गरेका छन्। आइतबार प्रतिनिधिसभामा उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा १८८ सांसदले मत जाहेर गरेका हुन्। प्रतिनिधिसभाको कुल सदस्य संख्या २७५ रहेकोमा प्रधानमन्त्री ओलीले संसद्‌मा दुईतिहाइ देखाउन १८४ सांसदको मत भए पुग्थ्यो।

प्रतिनिधिसभाको आइतबारको बैठकमा २६३ सांसदको उपस्थिति रहेकोमा विपक्षमा ७४ मत र एक जनाले मत दिन्न भन्ने पक्षमा मत जाहेर गरेको सभामुख देवराज घिमिरेले बताए।

“सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न राखेको प्रस्तावको पक्षमा १८८ मत परेको र उक्त संख्या प्रतिनिधिसभामा कायम रहेको संख्याको बहुमत भएकाले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु,” उनले भने।

प्रधानमन्त्री ओलीको विश्वासको प्रस्तावको पक्षमा नेपाली कांग्रेस, एमाले, अशोक राई नेतृत्वको जसपा, जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले मत दिए। नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादीले भने विश्वासको मतको विपक्षमा मतदान गरे।

नेपालको संविधानको धारा ७६ (२) अनुसार एमालेका अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता ओली चौथो पटक प्रधानमन्त्री भएका हुन्। प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन्।