हावाबाट नौनी बनाउँदै अमेरिकी स्टार्टअप कम्पनी, बिल गेट्सको लगानी

डेरीको नौनी भन्दा यस नौनीमा निकै कम मात्रामा 'कार्बन फुटप्रिन्ट' हुने कम्पनीको दाबी छ।

गाईभैंसीको दूधबाट बनेको नौनी (बटर) बारे त थाहै होला, तर अब हावाबाट नौनी बन्दैछ भन्ने सुन्दा भने अचम्म लाग्न सक्छ।

हो, अमेरिकाको एक स्टार्टअप कम्पनीले हावाबाट नौनी बनाउन लागेको छ। क्यालिफोर्निमा रहेको सोभर नामको कम्पनीले यस्तो नौनी बनाउन लागेको हो। यस नौनीमा दूधको प्रयोग गरिने छैन। तर स्वाद र पाइने तत्व सबै नौनीकै जस्तो हुने बिल गेट्सको लगानी रहेको स्टार्टअपको दाबी छ।

यसका लागि उक्त कम्पनीलाई विश्वकै धनीमध्ये एक बिलगेट्सले आर्थिक सहयोग गरेका छन्। कम्पनीले बिनादूधको आइसक्रिम, पनिर आदि पनि बनाइसकेको छ। अब  भने नौनी बनाउन लागेको हो, त्यो पनि हावाबाट।

कम्पनीले यस्तो नौनी बनाउनका लागि थर्मोकेमिकल प्रक्रियाको प्रयोग गरेको छ। जसमा कार्बन डाइअक्साइड, हाइड्रोजन तथा अक्सिजनको संयोजन गरेर नौनी निर्माण गर्न सकिन्छ। अर्थात यसमा ती तत्वहरू रहन्छन् जो सिधै हावामा पाइन्छन्।

डेरीको नौनी भन्दा यस नौनीमा निकै कम मात्रामा कार्बन फुटप्रिन्ट हुने कम्पनीको दाबी छ। प्रतिकिलोमा ०.८ ग्राम कार्बन रहनेछ। यसको तुलनामा सामान्य नौनीमा ८० प्रतिशत फ्याट हुँदा झन्डै १७ प्रतिशत कार्बन हुन्छ।

अबको दुई वर्षभित्र बजारमा ल्याउने कम्पनीले तयारी गरेको छ। त्यसअघि कम्पनीले सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्ने हुन्छ। कम्पनीकी सीईओ क्याथलीन एलेक्जेंडरले भनिन्, "सन् २०२५ सम्म यो बेच्ने आशा छैन र यसको पछि यो बजारमा आउन सक्छ। अब यसको जाँच आदि को एक पैनल बनेको छ, जो यो काम गरिरहेको छ।"

बिल गेट्सले पनि यस आइडियालाई समर्थन गरेका छन्। उनले आफ्नो ब्लगस्पटमा लेखेका छन्, "प्रयोगशालामा बनेको बोसो र तेलको विचार शुरूमा अनौठो लाग्न सक्छ। तर हाम्रो कार्बन फुटप्रिन्टलाई उल्लेखनीय रूपमा घटाउने तिनीहरूको सम्भावना अपार छ। प्रमाणित प्रविधि र प्रक्रियाहरू प्रयोग गरेर, हामी हाम्रो जलवायु लक्ष्यहरू प्राप्त गर्न एक कदम नजिक पुग्छौँ।"

विश्व स्वास्थ्य संगठनका अनुसार गाई फार्म तथा मासु उद्योगले  हरितगृह ग्यास उत्सर्जनको १४.५ प्रतिशत हिस्सा ओगट्छ।