मनसुनजन्य विपद्मा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म नौ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

काठमाडौँ– जेठ २८ गतेदेखि अविरल वर्षपछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म १३० जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा सात जना र सुदूरपश्चिम प्रदेशमा नौ जना गरी जम्मा १३० जनाको मृत्यु भएको हो। 

साथै काठमाडौँ उपत्यकामा नौ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा नौ जना, बागमती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १४४ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा ६६ जनाको उद्धार गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, मधेश प्रदेशमा एक जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा एक जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी नौ जना बेपत्ता भएका र उनीहरूको खोजी जारी रहेको प्रवक्ता कार्कीको भनाइ छ। 

बाढीको कारण जम्मा १८२ घर डुबानमा परेका छन्। २२९ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीको तथ्यांक छ। यस अवधिमा विपद्का घटनामा परी ५८९ वटा पशुचौपाय मरेका छन्। उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ९९८ घर परिवार विस्थापित भएका छन्।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।