उत्तरी बांग्ललादेशको विभिन्न मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी नजिकको दूरी भएकाले काँकडभिट्टाबाट स्वदेश फर्किरहेका हुन्।
झापा– बांग्लादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन्। आइतबार मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन्।
“पछिल्लो दुई दिनको तुलनामा आज विद्यार्थीको आगमन बढेको हो,” अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले भने, ‘विद्यार्थीहरू बिहानैदेखि आइरहेका छन्।” उनीहरूलाई छिटोभन्दा छिटो अध्यागमन प्रक्रिया पूरा गरेर घर जाने वातावरण मिलाइरहेको उनले जानकारी दिए।
बांग्लादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि विगत सात दिनदेखि नेपाली विद्यार्थी स्वदेश फर्किने क्रम शुरू भएको हो। सात दिनमा काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किने विद्यार्थीको संख्या सात सयभन्दा बढी रहेको अध्यागमन प्रमुख पनेरुले बताए।
आइतबार दिउँसो काँकडभिट्टा आइपुगेकी रंगपुर कम्युनिटी मेडिकल कलेजकी एमबीबीएस छात्रा भावना राईले नेपाली समुदायका चार सयभन्दा बढी विद्यार्थीलाई कलेजले आफ्नो बसमा ओसारेर भारतको सीमा नाका फूलबारीमा ल्याइदिएको बताइन्।
इटहरी निवासी राईका अनुसार विद्यार्थी ओसार्न प्रयोग गरिएको कलेजको बसलाई बांग्लादेश सरकारले सुरक्षा दिएको थियो। “कलेजका प्राध्यापक र कर्मचारीहरू पनि भारतको सीमासम्म हामीलाई पुर्याउन आउनुभयो,” उनले भनिन्, “कर्फ्यु लागेको अवस्थामा बांग्लादेशबाट भारत प्रवेश गर्न सफल भयौँ।”
आइतबार मात्रै नौ वटा बसमार्फत भारतीय सीमा नाकासम्म आएका रंगपुर मेडिकल कलेज र प्राइम मेडिकल कलेजका विद्यार्थीमध्ये धेरैजसो दार्जीलिङ, सिक्किम र सिलिगुढी क्षेत्रका भएको उनले जानकारी दिए। केही विद्यार्थी भुटानबाट समेत आएका थिए।
रंगपुर कम्युनिटी मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत समृद्ध थापाले स्वदेश फर्किने हतारका कारण आइतबार सबै विद्यार्थी भोकै रहेको बताए। “एक हप्तादेखि होस्टेलबाट बाहिर निस्कन पाएका थिएनौँ,” काठमाडौँ निवासी उनले भने, “सडकमा दिनहुँ गोली चलेको आवाजले हाम्रो मुटु हल्लिन्थ्यो। कहिले घर जान पाइएला जस्तो भएको थियो। आज खाना खाने फुर्सद पनि भएन। काँकडभिट्टा आइपुग्दा भोक र तिर्खा सबै हरायो। ढुक्क भइयो।”
उत्तरी बांग्ललादेशको विभिन्न मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी नजिकको दूरी भएकाले काँकडभिट्टाबाट स्वदेश फर्किरहेका हुन्। काँकडभिट्टा आइपुग्ने बित्तिकै उनीहरूले परिवारसँग फोन र इन्टरनेट सम्पर्क गरी आफू सकुशल रहेको खबर गरेका थिए।
सुर्खेत घर भएकी रेणुका गुरुङले बांग्लादेशमा फोन र इन्टरनेट बन्द भएपछि अत्यास लागेको अनुभूति सुनाइन्। नयाँ विद्यार्थीहरूलाई सम्झाउन गाह्रो भएको उनको भनाइ थियो
“आज बिहान चार बजे कलेजबाट हिँडेका थियौँ। शिक्षकहरूले हामीलाई भारतको सीमासम्म ल्याउन सहयोग पुर्याउनु भयो। जुस र पानी मात्र पिएर हामी काँकडभिट्टा आइपुग्यौँ” उनले भनिन्।
बांग्लादेशस्थित कलेजले त्यहाँको सुरक्षा निकायसँग समन्वय गरेर भारतीय सीमा नाका फूलबारीसम्म ल्याइदिएको कञ्चनपुरकी रक्षा भण्डारीले बताइन्। विद्यार्थीले बांग्लादेशको बंगलाबन्ध, भारतको फूलबारी र पानीट्यांकी नाकामा अध्यागमन प्रक्रिया पूरा गरेपछि मात्र नेपाल आउन पाउँछन्।
पानीट्यांकी नाकाबाट ई–रिक्सा र ट्याक्सी चढेर उनीहरु सिधै काँकडभिट्टस्थित अध्यागमन कार्यालयमा आइपुग्छन्। अध्यागमन प्रक्रिया सकेर उनीहरू झापा, इलामलगायतका नजिकका जिल्लावासी भए गाडी रिजर्भ गरेर घर जाने गरेका छन्।
काठमाडौँ र त्योभन्दा पश्चिमका विद्यार्थी भद्रपुर विमानस्थलबाट हवाई मार्ग हुँदै घर जाने गरेका छन्। कतिपय अभिभावक छोराछोरी लिन काँकडभिट्टाको अध्यागमन परिसरमै पुग्ने गरेका छन्। बांग्लादेशको फरिदपुरस्थित मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत प्रतिभा नायकलाई लिन उनका आमाबुबा अध्यागमन परिसरमै घण्टौँ कुरेका थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
