लुम्बिनीमा सरकार गठनका लागि आह्वान

लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचनले सोमबार साँझ साढे ६ बजेभित्र नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन्। 

काठमाडौँ– लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचनले नयाँ सरकार गठनको आह्वान गरेका छन्।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा दिएपछि प्रदेशप्रमुख शेरचन नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढाएका हुन्। उनले सोमबार साँझ साढे ६ बजेभित्र नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन्। 

प्रदेशप्रमुख शेरचन नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई या दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

माओवादी संसदीय दल नेता महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा तीन, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जना सांसदले समर्थन गरेका थिए।

केन्द्रमा सत्ता समीकरण फेरबदल भएसँगै सत्तासाझेदार दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका थिए। अल्पमतमा परेको मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने या राजीनामा दिनुपर्ने संवैधानिक व्यवस्था छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सम्बोधनका क्रममा मुख्यमन्त्री महराले राजीनामा दिने घोषणा गरेका थिए। 

केन्द्रमा एमाले र कांग्रेसबीचको सहमतिअनुसार लुम्बिनीको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी बनाउने तयारी भएको बताइएको छ।