मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

आठबीसकोट नगरपालिका–१२ झिनचौरस्थित कर्णाली वेभरेज र किसानबीच किवी प्रतिकिलो १२५ मा खरिदबिक्री गर्ने सम्झौता भएको छ।

तस्वीर : रासस

मुसीकोट– रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन्।

आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले परम्परागत बाली लगाइरहेको जग्गामा किवीको बिरुवा लगाएका हुन्। बिरुवा लगाइएको दुई वर्षमै बारीमा किवी फल्न थालेपछि शाही उत्साहीत छन्। 

तर, जिल्लामा किवीको बजार कम भएकाले ठूलो मात्रामा फलेको किवी बिक्री हुन सकेको थिएन। घरबाट डोकोमा बोकेर करिब दुई किलोमिटर हिँडेपछि मात्र सडक भेटिन्थ्यो। गाडीले किवी बोक्न नमान्दा शाहीलाई बिक्री गर्न निकै समस्या हुने गरेको थियो। उनी मात्रै होइन, उक्त नगरपालिकामा किवी खेती गरेका किसानलाई बिक्री गर्न धेरै समस्या भयो।

किवीले बजार पाउन छाडे पनि नगरपालिकामा रहेको एउटा वाइन उद्योगले खरिद गर्ने भएको छ। नगरपालिकाका किसानले उत्पादन गरेको किवी कर्णाली वेभरेज प्रालिले खरिद गर्ने भएको हो। आठबीसकोट नगरपालिका–१२ झिनचौरमा रहेको उद्योग र किसानबीच किवी प्रतिकिलो १२५ मा खरिदबिक्री गर्ने सम्झौता भएको मेयर रवि केसी जानकारी दिए। 

यस नगरपालिकाको वडा नम्बर १, २, ३, १०, ११ र १२ मा  १४२ क्विन्टल किवी उत्पादन भएको छ। ४७ जना व्यावसायिक किवी उत्पादन गर्ने किसान छन्। पहिलो स्थानीय सरकारले किवी खेतीलाई जोड दिएपछि नगरपालिकामा किवी खेती गर्ने किसानको संख्या धेरै पुगेको छ।

सरकारले किसानलाई अनुदानमा किवीको बिरुवा वितरण गरेको थियो। किसान आफैँले किनेर पनि बिरुवा लगाएका थिए। नगरपालिकामा गत वर्ष मात्र दुई हजार १०० किवीका बिरुवा रोपिएका थिए। अहिले एक हजार ५०० किवीका बोटले उत्पादन दिइरहेको नगरपालिकाले जनाएको छ। 

त्यस्तै नगरपालिकाले ढुवानीका लागि पनि अनुदान दिने भएको छ। किसानको बारीबाट वडा नम्बर १२ मा रहेको कम्पनीसम्म किवी पुर्‍याउन लाग्ने भाडा नगरपालिकाले तिरिदिने मेयर केसीले बताए। अहिलेसम्म किसानले आ–आफैँ किवी बिक्री गरिरहेकामा पहिलोपटक नगरभरको किवी एकमुस्ट बिक्री हुन लागेको हो।

नगरमै किवी खपत हुने र ढुवानीमा अनुदान पाइने भएपछि कृषक खुसी भएका छन्। कर्णाली वेभरेजले वाइन तथा विभिन्न जुस उत्पादन गरिरहेको छ।