‘युगको साँचो’बारे दर्शकको प्रतिक्रिया– बन्द उद्योगधन्दाबारे सरकारलाई सोच्न बाध्य बनाउँछ

यस नाटकले बन्द भएका उद्योगधन्दा खोल्नुपर्ने, नयाँ उद्योगधन्दा सञ्चालन गर्नुपर्ने, युवा जनशक्तिलाई पलायन हुनबाट रोकी  मुलुकमै काम गर्ने वातावरण दिनुपर्ने सन्देश दिएको छ।

काठमाडौँ– काठमाडौँको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा असार २७ गतेदेखि नाटक ‘युगको साँचो’ मञ्चन भइरहेको छ।

गत शुक्रबार त्यहाँ पुग्दा भीडभाड थियो। बेलुकी साढे ५ बजेदेखि शुरू हुने नाटक हेर्न थिएटरको लगभग ७० प्रतिशत सिट भरिभराउ भएका थिए। डेढ घण्टाको शो सकिएपछि बाहिरिएका दर्शकहरूका मुहारमा सोचमग्न भाव देखिन्थ्यो। त्यहीमध्येकी एक थिइन् काठमाडौँकी अस्मिता सुमार्गी।

“नाटक त सारै राम्रो लाग्यो। यस नाटकले उद्योगधन्दाका विषयमा सरकारलाइ सोच्न बाध्य बनाउने छ,” उनले भनिन्। सुस्मितासहित सुमार्गी परिवारका १३ जना नाटक हेर्न थिएटर पुगेका थिए। नाटकले राम्रो सन्देश बोकेको उनीहरूको प्रतिक्रिया थियो।

“सरकारलाई झकझकाउने राम्रो माध्यम लाग्यो। अहिले मुलुकमा उद्योगधन्दा बन्द छन्, नयाँ उद्योग खुल्न सकेका छैनन्। त्यसका लागि यो नाटकले केही पहलकदमी चाल्छ जस्तो लाग्छ,” उनले थपिन् “यो नाटक सकेसम्म त्यस्ता युवापुस्तालाई देखाउन जरुरी छ जसले नेपालमा भविष्य देखेको छैन। यस नाटकले मुलुकमै केही गराैँ भन्ने सन्देश दिन्छ।” 

नाटकबाट आफू निकै प्रभावित भएको र सरकारले यस विषयमा चासो दिए मात्रै नाटकले सार्थकता पाउने उनको भनाई थियो। 

काठमाडौँका शैलेन्द्र रायमाझीले विगत १५ वर्षदेखि कागेश्वरीमा प्रिन्टिङसम्बन्धी व्यवसाय सञ्चालन गरिरहेका छन्। उनले नेपालमै बसेर व्यवसाय गर्ने सोच अनुरूप नै आफैँले पसल सञ्चालन गरेका हुन्। पौरख गरेर स्वाभीमानका साथ नेपालमै पसिना बगाउन सके  प्रसस्त अवसर रहेको उनको भनाइ छ। यस नाटकले आफूलाई थप प्रेरणा र उर्जा मिलेको भन्दै उनले सकारात्मक प्रतिक्रिया जनाए।

“हामी जस्ता युवा उद्यमीलाई प्रोत्साहन गर्नेगरि नाटक बनेको छ। आफ्नै माटोमा रहेर मन लागेको काम गर्न सकिन्छ। यसको लागि सरकारले पनि ध्यान दिनुपर्छ। र सरकारले मात्र गरेर हुँदैन, हामी नागरिकले पनि नेपालमै केहि गर्छु भन्ने सोचेर लागि पर्नुपर्छ,” शैलेन्द्रले भने।

युगको साँचो नाटक सरकारी ओहोदामा रहेका सबैले हेर्न जरुरी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रकी उपसचिव विष्णुकुमारी भट्टराईले बताइन्। यस नाटकले लगनशील, क्षमतावान र इमानदार युवाहरूलाई आकर्षित र प्रोत्साहन गर्ने भन्दै नाटकका विषयमा सरकारको ध्यानाकर्षण गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने आश्वासनसमेत दिइन्।

उनले भनिन् “हामीले उद्योगधन्दा सञ्चालनका लागि विभिन्न तालिम प्रदान गर्छाैं। तर युवाहरूको सहभागिता कम छ। भएका उद्योग बन्द छन्, नयाँ सञ्चालन भइरहेको छैन, युवापुस्ता उद्योग व्यवसायमा गइरहेको छैन भन्ने सरकारले पनि अनुभूति गरेको छ। यो चिन्ताजनक विषय हो।”

उद्योगधन्दा स्थापनामा लगानी गर्ने वातावरण नँहुदा समस्या जटिल बन्दै गएको उनको भनाई छ। यद्यपि उद्योग व्यवसायमा नागरिकलाई प्रोत्साहन गर्न सरकारले नयाँ कार्यक्रम ल्याएको र त्यसले यस क्षेत्रमा सकारात्मक आयाम थप्ने उनले बताइन्।

लेखक तथा रंगकर्मी टंक चौलागाईंको निर्देशनमा निर्माण भएको ‘युगको साँचो’ नाटक गत असार २७ बाट शिल्पी थिएटरमा चलिरहेको छ। यो नाटक नेपाली सिर्जना नभई अंग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’को भावानुवाद हो।

उक्त अंग्रेजी नाटकमा विली वन्का जो चकलेट फ्याक्ट्रीका साहु हुन्। उनले आफ्नो फ्याक्ट्रीबाट उत्पादित चकलेट संसारभर बेच्छन्। तर नेपालमा भने चकलेटभन्दा कपडाको आवश्यकता रहेकाले कपडा उपयोगी ठानेर परिकल्पनाकार चौलागाईंले यो सन्देश नाटकमार्फत दिएका हुन्। प्रस्तुत नाटकमा विली वन्का ‘मुन मिस’ भएकी छन्। उनको चर्चित र सफल ‘मुन नमूना उद्योग’मा महिला तथा युवालाई रोजगारी दिएकी छन्।

उद्योगको अत्यधिक सफलतापछि मुनले केही युवालाई युगको साँचो पठाइन्। अनेकन प्रयासपछि पाँच जना बालबालिका तथा युवाले युगको साँचो पाउँछन्। युगको साँचो पाएकाहरू मुनको कारखाना घुम्ने अवसरसमेत पाउँछन्। यिनै पाँच जनामध्ये इमानदार, सक्षम, लगनशील तथा मेहनती एक जनाले मुन मिसको नमूना उद्योगलाई अघि बढाउने छन्।

यस नाटकले बन्द भएका उद्योगधन्दा खोल्नुपर्ने, नयाँ उद्योगधन्दा सञ्चालन गर्नुपर्ने, युवा जनशक्तिलाई पलायन हुनबाट रोकी  मुलुकमै काम गर्ने वातावरण दिनुपर्ने सन्देश दिएको छ।