नयाँ सडकमा फुटपाथ विस्तारको विरोधमा सडकबाटै काम

उच्च अदालत पाटनको आदेशपछि महानगरले नयाँ सडकको जुद्ध सालिकबाट दक्षिणतर्फको धर्मपथ आसपासको सडकमा पैदलमार्ग विस्तार गर्न शुरू गरेपछि स्थानीयले विरोध जनाउँदै आएका छन्।

नयाँ सडक क्षेत्रमा पैदलमार्ग विस्तारको विरोध गर्दै स्थानीय। तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– नयाँ सडक क्षेत्रमा फुटपाथ विस्तारको विरोधमा काठमाडौँ महानगरपालिका–२२ ले सोमबार पनि सडकबाटै नागरिकलाई सेवा दिएको जनाएको छ। आइतबारदेखि वडा अध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन्।

उक्त कार्यलाई सोमबार पनि निरन्तरता दिएको वडा अध्यक्ष महर्जनले बताए। “वडावासीको माग सम्बोधन नभएसम्म नागरिकको सेवा सडकबाट सञ्चालन गर्नेछौँ। यस विषयमा छलफल गर्न अहिलेसम्म महानगर प्रमुखले कुनै जानकारी दिनुभएको छैन। समस्या समाधान नहुँदासम्म सडकबाट सेवा दिनेछौँ,” उनले भने। 

उच्च अदालत पाटनको आदेशपछि महानगरले नयाँ सडकको जुद्ध सालिकबाट दक्षिणतर्फको धर्मपथ आसपासको सडकमा पैदलमार्ग विस्तार गर्न शुरू गरेपछि स्थानीयले विरोध जनाउँदै आएका छन्। स्थानीयको विरोधमा वडाका जनप्रतिनिधि पनि समर्थनमा उत्रिएका हुन्। 

पैदलमार्ग विस्तारको विरोधमा वडा अध्यक्षसहित स्थानीय र व्यापारीले शुक्रबार बिहानैदेखि सडक प्रदर्शन गरेका थिए। नागरिकको विरोधलाई समर्थन जनाउँदै सडकबाट सेवा दिन थालिएको वडा अध्यक्ष महर्जनले बताए।

काठमाडौँ महानगरको प्रतिक्रिया
नयाँ सडक क्षेत्रमा विस्तारका क्रममा पैदलमार्ग सुधार गर्न लागिएको काठमाडौँ महानगरको शहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीले बताए। विगतमा सवारी पार्किङ गरिएको क्षेत्रलाई स्तरोन्नति गरी पैदलमार्ग बनाउन लागिएको उनको भनाइ छ।

“न्युरोडको कालोपत्रे सडकमा मोटरसाइकल, ढुवानीका साधन, कार पार्किङ गरेर जति ठाउँमा राखिन्थ्यो त्यति सबै ठाउँ आवश्यक पर्दैन” राजभण्डारीले भने, “सहज आवागमन, व्यापारिक क्षेत्रको व्यवस्थापन र सहरी सुन्दरताका लागि विगतमा पार्किङ हुने गरेको स्थानमा पैदलमार्ग बनाएर पैदलयात्रीलाई उपलब्ध गराउन लागिएको हो।” आयोगका उपाध्यक्ष डा राजभण्डारीले पैदलमार्ग विस्तारको आवश्यकता रहेको बताउँदै मापदण्ड विपरीत काम नभएको दाबी गरे।

मिश्रित आवासीय क्षेत्रमा १.८, मिश्रित व्यावसायिक क्षेत्रमा २.५०,बस बिसौनीमा तीन, बजार क्षेत्रमा ३.५ देखि ४।५, उच्च चाप भएको व्यावसायिक क्षेत्रमा चार मिटर चौडाइको पैदलमार्ग आवश्यक पर्ने भन्दै पैदलमार्ग निर्माण भएपछि उक्त मापदण्ड पूरा हुने काठमाडौँ महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले जानकारी दिए।

“१३ मिटरको सडक भएको ठाउँमा आठ मिटर मूल सडक राख्ने, दायाँ २.५ र बायाँ २.५ मिटर पैदलमार्ग विस्तार गर्ने र ११ मिटर सडक भएको ठाउँमा आठ मिटर मूल सडक राख्ने, दायाँ र बायाँ १.५ मिटर पैदलमार्ग विस्तार गर्ने योजना छ। पैदलमार्ग विस्तार हुँदा विगतमा मोटरसाइकल पार्किङ भए जत्तिको ठाउँ पनि उपयोग हुँदैन,” उनले भने। रासस