लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यको दाबी पेश

नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन प्रदेशप्रमुख अमिक शेरचनसमक्ष दाबी पेश भएको छ।

काठमाडौँ– नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन प्रदेशप्रमुख अमिक शेरचनसमक्ष दाबी पेश भएको छ।

सोमबार एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित आचार्यलाई मुख्यमन्त्री बनाउन दाबी पेश भएको हो। ८७ सदस्यीय लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस र एमाले मिल्दा नै लुम्बिनी प्रदेश सरकार बनाउन बहुमत पुग्छ।

यसअघि संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउन दाबी पेश भएको हो। अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन्।

मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएपछि प्रदेशप्रमुख शेरचनले आइतबार अर्को सरकार गठन गर्न सोमबार साँझ साढे ६ बजेसम्मको समय दिएर आह्वान गरेका थिए।

माओवादी संसदीय दलका नेता महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा तीन, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जना सांसदले समर्थन गरेका थिए।

तर, केन्द्रमा सत्तासमीकरण फेरबदल भएसँगै सत्तासाझेदार दलले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका महराले आइतबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।