बांग्लादेशमा विपक्षी दलका नेतासहित ५०० भन्दा बढी प्रदर्शनकारी पक्राउ

बांग्लादेशको राजधानी ढाकामा आरक्षणविरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित ५०० जनाभन्दा बढी प्रदर्शनकारी पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ।

बांग्लादेशको राजधानी ढाकामा आरक्षणविरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित ५०० जनाभन्दा बढी प्रदर्शनकारी पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ।

प्रदर्शनमा कम्तीमा ५३२ जनालाई पक्राउ गरिएको ढाका मेट्रोपोलिटन प्रहरी प्रवक्ता फारुक हुसेनले बताएका हुन्। पक्राउ परेकामध्ये केही बांग्लादेश नेशनल पार्टी (बीएनपी)का नेताहरू रहेको उनले जनाए।

पक्राउ पर्नेमा बीएनपीका नेता अमिर खुसरो, महमुद चौधरी र प्रवक्ता रुहुल कबिर रिजवी अहमदसहित राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा नेता अमिनुल हक पनि रहेको उनले बताए।

इस्लामवादी पार्टी जमात–ए–इस्लामिकी महासचिव मिया गुलाम परवरलाई पनि पक्राउ गरिएको हुसेनले जानकारी दिए।

उनले राजधानीमा भएको प्रदर्शनका क्रममा कम्तीमा तीन जना प्रहरीले ज्यान गुमाएको, करिब एक हजार घाइते भएको र घाइतेमध्ये ६० जनाको अवस्था गम्भीर रहेको उल्लेख गरे।

बीएनपीका प्रवक्ता एके वाहिदुज्जमानले राष्ट्रव्यापी रूपमा विगत केही दिनमा सयौँ नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएको बताएका छन्।