विपद्मा परी देशभर १३१ जनाको मृत्यु, ४ हजार घरपरिवार विस्थापित

अवधिमा विपद्का घटनाबाट चार हजार चार घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

काठमाडौँ– बाढी, पहिरोलगायतका विपद्मा परी सोमबार दिउँसोसम्म मुलुकभर १३१ जनाको मृत्यु भएको छ।

विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशीमा २२, मधेशमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

विपद्मा परी १४४ जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। कोशीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा पाँच गरी जम्मा ६६ जनाको उद्धार गरिएको छ।

बाढीपहिरोमा परी कोशी र बागमतीमा दुई/दुई तथा मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एक गरी नौ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ।

बाढीका कारण जम्मा १८२ घर डुबानमा परेका छन्। २३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ५९४ वटा पशु चौपाया मरेका छन्। उक्त अवधिमा विपद्का घटनाबाट चार हजार चार घर परिवार विस्थापित भएका छन्।