आइफोन १४ बनाउँदै भारत

भारतमा बनेपनि आइफोन १४ सस्तो भने हुनेछैन। उच्च आयात शुल्क र अन्य करका कारणले गर्दा मूल्य महंगो नै पर्नेछ।

तस्वीर : एप्पल ट्विटर

मोबाइल कम्पनी एप्पलले नयाँ श्रृंखलाको फोन, आइफोन १४ भारतमा निर्माण गरिरहेको जनाएको छ। आफ्नो माग र आपूर्तिको बजारलाई चीनभन्दा पर विस्तार गर्न चाहेको एप्पलले आइफोन १४ भारतमा निर्माण गरिरहेको बताएको हो।

चीनको शून्य कोभिड नीति, लकडाउन, महामारीका समयमा व्यापारमा गिरावटजस्ता विषयले एप्पललाई असहज हुँदै आएको थियो । यसैबीच, वासिंटन र बेइजिङबीचको बढ्दो तनावबीच पनि एप्पलले केही उत्पादनलाइ चीन बाहिर विस्तार गर्नेतर्फ ध्यान दिएको थियो। सोहीअनुरूप भर्खर बजारमा आएको आइफोन १४ भारतमा बनाउन थालेको हो।

एप्पलले यसै महिनादेखि मात्रै आइफोन १४ बजारमा ल्याएको छ। नयाँ र अत्याधुनिक प्रविधियूक्त र महत्वपूर्ण सुरक्षा फिचर रहेको आइफोन १४ लाइ भारतमा उत्पादन गर्न पाउँदा हर्षित भएको एप्पलले जनाएको छ।

एप्पलका उत्पादनहरू ताइवान, चीन, भारतमा उत्पादन हुँदै आएका थिए। तर पनि एप्पलका अधिकांश फोन चीनमै उत्पादन हुने गर्थे। एप्पलले सन् २०१७ मा भारतको तामिल नाडुमा पुराना मोडलका हेडसेटहरू उत्पादन गर्दै आएपनि नयाँ उत्पादनका भारतलाई जिम्मा दिएको यो पहिलो पटक हो। 

भारतमा बनेको मोबाइल सेट सस्तो भने हुनेछैन। कम्पनीलाई हुने उच्च आयात शुल्क र अन्य करका कारण मोबाइलको मुल्य महंगो नै पर्नेछ। एप्पलले भारतमा आफ्नो बजार समेत बिस्तार गर्न चाहन्छ। गतवर्ष मात्रै भारतीय बजारको चार प्रतिशत हिस्सा एप्पलको थियो।

यसै महिनाको शुरूतिर लगानी बैंकका विश्लेषक जेपी मोर्गनले यस वर्ष एप्पलले आइफोन उत्पादनको पाँच प्रतिशत हिस्सा भारतमा सार्ने अनुमान लगाएका थिए। एप्पलले सन् २०२५ भित्र आइफोन उत्पादनको एक चौथाइ हिस्सा दक्षिण एसियाली मुलुकहरूमा विस्तार गर्ने एक प्रतिवेदनले अनुमानसमेत लगाएको छ।

गत वर्ष मात्रै एप्पल बिक्रेता फक्सकनले भियतनाममा साढे १ अर्ब डलर लगानी गरेको थियो। भने एप्पलले उत्पादन बढाउन भन्दै त्यहाँको उत्तरी क्षेत्रमा ३० करोड डलर बराबरको सम्झौता गरेको त्यहाँको सरकारी मिडियाले जनाएको थियो।