चेम्गाङ जेलमा रिन्जिनलाई लुगाफाटो दिएर निस्किएका रामबहादुर राई

रामबहादुरले भुटानको चेम्गाङ जेलबाट ल्याएका ‘कैदी कुर्ता–सुरुवाल’ २४ वर्षपछि टेकनाथ रिजाललाई फिर्ता दिइदिए। आफ्नो त के थियो र! भएका लाउने र ओछ्याउने पनि जेलमै सबै गुमाउन बाध्य रिन्जिनलाई सुम्पिएका थिए।

रामबहादुर राई।

बेलडाँगी (झापा)- २०२३ सेप्टेम्बर १९।

भुटान केन्द्रीय कारागार चेम्गाङमा २५ वर्षको जेलसजाय पूरा भएपछि रिन्जिन वाङ्दी बाहिर निस्किने तयारीमा थिए। चेम्गाङ जेलबाहिर उनका लत्ताकपडा, पोका–पुन्तुरा थुपारिएका थिए। वर्षौं साथै रहेका ४० जनाभन्दा बढी अरू कैदीबन्दी रिन्जिनको बिदाइमा भावुक बनेर उभिएका थिए। 

रिन्जिनलाई बिहान ९ बजे चेम्गाङ जेलबाट बाहिर निकालिएको थियो। रिलिज–पेपर लिने र प्रशासनिक प्रकृयामा सहीछाप गर्न मात्रै बाँकी थियो। 

“अचम्मै भयो, बेलुकी ५ बजे रिन्जिन भाइलाई फेरि चेम्गाङ जेलमै फर्काइयो। शुरूमा त कारण थाहै पाएनौँ,” चेम्गाङ जेलबाटै ३१ वर्ष १० महिनापछि छुटेर असार अन्तिम साता नेपाल आइपुगेका रामबहादुर राई (६६) भन्छन्, “उसलाई त फेरि पनि अरू सात वर्ष सजाय थप भएको रहेछ, अदालतले सजाय थप भनेको रहेछ।”

रामबहादुर बेलडाँगी शिविर आइपुगेको केही दिनपछि नै उपचारका लागि काठमाडौँ आएका छन्। उनका अनुसार रिन्जिन २०२३ सेप्टेम्बर १९ को गणनामा अरू सात वर्ष रिन्जिन चेम्गाङमै थुनिने भएका रहेछन्। थुनाअवधि थपिनुको अदालती कारणमा भनिएको रहेछ— रिन्जिनले जेलभित्रबाट एकपटक ड्रुक नेशनल कंग्रेसलाई फोन गरेको प्रमाण। “साथमा मोबाइल पनि भेटिएको रे भन्ने सुनियो तर हामीले देखेनौँ। त्यहाँको प्रहरी–प्रशासनले आरोप त जे लगाए पनि मिल्छ, जे भने पनि हुन्छ,” आइतबार दिउँसो जोरपाटीस्थित अर्थोपेडिक अस्पतालमा भेटिएका राईले सुनाए।

त्यसपछि रिन्जिनको अझ बिजोग शुरू भयो। भएभरका लुगाफाटो जेलबाट बाहिर निकालिसकिएको अवस्थामा फेरि भित्र लैजान नपाइने नियम थियो। राई र अरू साथीभाइले आफूसँग भएका ओढ्ने–ओछ्याउनेको रहल कपडा रिन्जिनलाई दिए। “म जेलबाट निस्कने भएपछि मेरा टिसर्ट, पेन्ट, ट्राउजर र अरू लुगाफाटो जेलमै दिएर आएको हुँ। नत्र त चेम्गाङको त्यो ठिही जाडोमा कक्रिएरै मर्ने अवस्था आउँछ नि,” राई भन्छन्।

भुटानको जेलमा रहेका रिन्जिन वाङ्दी।

स्वतन्त्रता आन्दोलनको पक्षधर भएर पूर्वी भुटानमा नाराजुलुसमा हिँडेको बहानामा रिन्जिन १९९९ जुन २५ मा पक्राउ परेका थिए। राजनीतिक संगठन ड्रुक नेशनल कंग्रेसको कार्यकताको आरोपमा पक्राउ पर्दा उनी २० वर्षका थिए। उनकी आमा केजाङ डेमा (५८) र बहिनी रिन्जिन डेमा भने अहिले बेलडाँगीस्थित शरणार्थी शिविरमा छन्।

आमा केजाङ पनि केही महिना थुनामा परेर छुटेकी थिइन्। बाबु साङ्गे दोर्जीलाई आठ वर्ष चेम्गाङ जेलमै थुनिएको थियो। उनीहरूलाई शान्तिपूर्ण जुलुसमा सहभागी भएकै कारण मात्र थुनिएको थियो।

रिन्जिनकी आमा केजाङ र बहिनी डेमा।

रिन्जिन छुट्ने खबर पाएपछि बेलडाँगी शिविरबाट बहिनी डेमा उनलाई लिन मेची पुल जाने तयारी गर्दै थिइन्। “रिन्जिन अस्ति सेप्टेम्बर १९/२० तिर आइपुग्ला कि भनेर मेचीपुलसम्म जाने तयारी गर्दै थियौं, तर ऊ फेरि थुनिएको सूचना पो पायौँ। अरु केकसो, किन थाहा भएन,” बेलडाँगीस्थित शिविरमा भेटिएकी डेमाले सुनाइन्। 

जेलबाट ‘कालो आलुको बीउ’ 
रामबहादुर राई सन् १९९० मा श्रीमती लछिमायाँ, जुम्ल्याहा छोरी गंगा–जमुना र अरू दुई छोरासहित दक्षिणी भुटानको तकलाई ब्लकबाट लखेटिएर पूर्वी नेपालको माइधार शिविर आएका थिए। सन् १९९२ देखि उनीहरू बेलडाँगी शरणार्थी शिविरमा थिए।

तर बेलडाँगी आएको दुई वर्षपछि रामबहादुर राजनीतिक आन्दोलनका लागि फेरि भुटान जाँदा पक्राउ परे। “राजनीतिक चेतनाको कुरा फैलाउनुपर्छ, आफ्नो हक–अधिकारबारे जानकार हुनुपर्छ भनेर केही साथीभाइको सल्लाहमा अलिकति पर्चापम्प्लेट बोकेर म भुटानको गेलेफु पुगेको थिएँ,” उनी भन्छन्, “त्यही बेला भुटान प्रहरीले पक्राउ गरेको सम्झना छ। बन्दुकको कुन्दाले छाती, ढाडमा कुटपिट गर्दै मलाई बेहोस बनाइएको रहेछ र एक महिनासम्म बेहोस अवस्थामै अस्पताल बसेको रहेछु। पछि थाहा लाग्यो।”

उनको छातीका दुवैतर्फ करङ भाँच्चिएका रहेछन्। पैतालामा कुटपिट गरेर दिइएको यातनाले हिँडडुल गर्न सक्दैन थिए। यही अवस्थामा उनले चेम्गाङ जेलमा तीन दशकभन्दा लामो समय बिताए। “सन् २०१२ सम्म त अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)को टोली चेम्गाङ आउने गरेको थियो,” रामबहादुर भन्छन्, “त्यस बेलासम्म देखावटी भए पनि स्वास्थ्य उपचार र अरू थोरतिनो सुविधा थियो, त्यसपछि त बिजोग बनेको छ।”

सन् २००७ तिर रामबहादरलाई भेट्न श्रीमती लछिमाया चेम्गाङ जेल पुगेकी थिइन्। त्यसयता उनले श्रीमती र परिवारको हालखबर पाएनन्। जेलबाट छुटेर बेलडाँगीस्थित शरणार्थी शिविरमै आएपछि मात्र श्रीमती बितेको १५ वर्ष भइसकेको थाहा पाए। क्यान्सर लागेपछि सन् २००९ मा लछिमायाको निधन भएको थियो।

त्यही बेला पुनर्बासका लागि दुई छोरा अमेरिका–अस्ट्रेलिया पुगेका रहेछन्। जुम्ल्याहा छोरीमध्ये एकजना गंगा शिविरमै छिन्, अर्की छोरी जमुना काठमाडौँको काभ्रेस्थलीमा सपरिपवार बस्छिन्। “मैले शिविर छाड्दा यो छोरी (जमुना) ७ वर्षकी थिई होला, अहिले त नातिनातिना भैसकेछन्,” काठमाडौँ आएका बाबुसँग भेट गर्न आएकी जमुनाको टाउकोमा हात राख्दै रामबहादुरले भने, “बाँचिएला भन्ने थिएन, बाँचेर फेरि यी सन्तान देख्न पाइएला भन्ने थिएन। मलाई हो कि होइन जस्तो भैरहेको छ।”

छोरी गंगासँग रामबहादुर।

आफैलाई सपनाजस्तो लाग्ने जीवनबारे रामबहादुर धेरै सम्झना सुनाउनै चाहँदैनन्। जेलभित्रको यातना र हैरानी सम्झँदा निरास हुन्छन्। जेलमा सँगै भएका कतिपय साथीभाइलाई बेपत्ता पारिएको छ, कतिपयलाई कुटपिट गरेर हत्या गरिएको छ। उनी सन् १९९४ मा चेम्गाङ जेल पुग्दा त्यहाँ ४५० भन्दा बढी कैदीबन्दी थिए। 

चेम्गाङमै रहेको जनाना (महिला) कारगारमा त अझ कति थिए कति! राबुना, पारो, सान्द्रुप जोङ्खर जेलमा हुनेको सूची पनि कतै छैन। सन् २०१४ को मध्यतिर बेलडाँगी शिविरबाटै उठाएर भुटान पुर्‍याइएका र अझै पत्तो नलागेका लोकनाथ आचार्यका बारे खोजबिन गर्न रामबहादुर स्वयं पनि लागिपरेका रहेछन्। “मैले पनि केही सुराकी लाइहेरेको थिएँ, साथीभाइले अलिकति खर्च उठाएर लोकनाथको खोजबिनमा अनेक तर्तिब गरिहेर्‍यौँ,” उनले सुनाए, “तर सास–लास केही पत्तो भएन।”

भुटानको जेलबाट आएर काठमाडौँमा शरणार्थी नेता टेकनाथ रिजाल (दायाँबाट दोस्रो)सँग भेट गर्दै बायाँबाट क्रमश: मधुकर मगर, रामबहादुर र मनबहादुर खालिङ।

जेलमा लुगाफाटोकै बिजोग हुन्थ्यो। जाडो छल्नका लागि रासन भरेर वा आलु राखेर ल्याइएको जुटका बोरालाई सिलाएर दौराजस्तो बनाउने चलन थियो। कम्तिमा सात दिनमा मात्र नुहाउन पाइने र साबुन–सरफको जोहो नहुँदा शरीरमा टाँसिएका जुम्रा निकाल्दैमा दिनरात बित्थ्यो।

“जेलमा भान्साको छेउमा अलिकति करेसाबारी थियो, मैले थाइल्यान्डबाट आएको कालो आलु रोप्ने गरेको थिएँ। उपवास बसेका बेला उसिनेर खान पुग्थ्यो,” उनी भन्छन्, “म हरेक शुक्रबार उपवास बस्थेँ। फलफूल वा दूधदही त कहाँ देख्न पाउनु र! बिहिबारसम्म आलुको झोल र खस्रो चामलको खान्की हुन्थ्यो, शुक्रबार भएपछि त्यही आलु उसिनेर फलाहारी बन्थेँ।”

त्यही सम्झना संगाल्न रामबहादुरले जेलबारीको पाँच दाना कालो आलु बोकेर ल्याएका रहेछन्। जेल प्रशासनले दिएको ‘रिलिज–पेपर’को फोटोकपी, केही दाना आलु र टुथब्रस–पेस्टको पोकोमा भुटानी शैलीको सानो भिरुवा झोला बोकेर उनी नेपाल आइपुगो छन्। जेलबाट ल्याइएको आलुको बीउ बेलडाँगी शिविरमा छोरी गंगाको करेसामा गाडिएको रहेछ।

डासो रिजालको ‘कैदी कुर्ता–सुरूवाल’
सन् १९९४ को मध्यतिर रामबहादुरलाई चेम्गाङ जेलमा लगिँदा डासो टेकनाथ रिजाल त्यहीँ थिए। यी दुई कैदी नजिकका मित्र बनेका थिए। रामबहादुरले चियापानी र दालभात पकाएर खुवाउनेदेखि डासो रिजालका लुगा धोइदिनेसम्म गरे। रिजाल स्वयं भुटानी राजपरिषद्को सल्लाहकार र सम्माननीय भएकाले सबैले ‘डासो रिजाल’ भन्थे।

“कैदीबन्दीले पाउने खान्कीको दालमा सिसाको टुक्रा र भातमा किला भेटिएपछि डासोले त्यसको विरोधमा बोल्नुभएको थियो। डासोलाई यस्ता नसोचेको परिबन्द आइरहन्थ्यो। अनि उहाँले मलाई पूरै विश्वास गरेर दालभात बनाउने निकटको भाइ बनाउनुभएको थियो,” उनी भन्छन्।

रिजाल १० वर्षे कैद सजायबाट ननिस्किएसम्म (१९९९ डिसेम्बर १७) रामबहादुरले साथ दिइरहे। त्यही सम्बन्धले हुनसक्छ, रिजाल निस्किएपछि अरू कतिपयले क्षमादान र राजनिगाह पाए पनि रामबहादुरले कुनै प्रकारको क्षमा पाएनन्। उनलाई जेल–प्रशासन र अरू कैदीबन्दीले पनि ‘डासोको चम्चे’ भन्थे। “डासो रिजालले मलाई छाडेर नेपाल आएको २४ वर्ष बितिसक्दा पनि मैले खुबै सम्झेको थिएँ। उहाँले मलाई नासोसरह कैदीले लाउने कुर्ता–सुरूवाल र एउटा मन्त्र–माला छाडेर आउनुभएको थियो,” उनी भन्छन्, “अनि मलाई डासोले भन्नुभएको थियो— तिमी बाँचेरै जेलबाट बाहिर आयौ भने अनि हाम्रो कतै भेट भयो भने यो चिनो लिएर आउनू। भाइ, म कतै पर्खिरहनेछु।”

डासो रिजाललाई काठमाडौँमा भेटेपछि रामबहादुर नराम्ररी भक्कानिए। रिजालसँग निकै लामो समय गला मिलाइरहे। “मेरो भाइ, तिमी बाँचेर आयौ नि! कसरी, कुन शक्तिले तिमीलाई बँचायो नि!” आफूले फिर्ता पाएको कुर्ता–सुरूवाल र मन्त्र–माला ढोग्दै रिजाल फुसफुसाए। 

वर्षौंपछि भेट भएका उनीहरूले सम्झना आदानप्रदान गरेर दिन बिताए। डासो रिजालले चेम्गाङ जेलको भित्तामा गीतागंगा गायत्री श्लोक खोपेका थिए। रामबहादुरले त्यसको पनि कुरा निकाले। एकपटक त जेल प्रशासनले त्यो भित्ता नै भत्काउने भनेको रहेछ। अनि रामबहादुरले ‘यो मन्त्र जसले मेटाउँछ/भत्काउँछ, त्यसको जीवन नै क्षति हुनसक्छ। भत्काउने र भत्काउन लगाउने दुवैको ज्यान जान सक्छ’ भनेपछि प्रहरी हच्किएछ।

रामबहादुर जेल बसाइबाट बाहिर आएको दुई हप्ता मात्रै भएको छ। रामबहादुरका साथमा छन्, त्यही चेम्गाङमा ३१ वर्ष जेलजीवन बिताएर आएका मधुकर मगर (५८) र २० वर्ष जेल बसेका मनबहादुर खालिङ (५५)। उनीहरू पनि डासो रिजालका सामु सम्मानभाव जनाइरहेका थिए। कुनै परिचयपत्रबिनै र अब भुटानी शरणार्थीको पुरानो आधार (पहिचान) पनि नरहेको अवस्थामा आफ्नो आवाज कतै सुनुवाइ होला कि भनेर काठमाडौँ आएका थिए। यसपटकको यात्राको उद्देश्य दुखिरहने छाती, आँसु बहिरहने आँखा र झमझमाइरहने शरीरको चेकजाँच सहुलियतमा गराउनु पनि थियो।

“डासो, यो जीवन भन्नु गजबै रहेछ। एउटा उडिहिँड्ने चरालाई लामो समय पिँजडामा राखेर छाड्ने हो भने त्यसले फेरि उडान गर्न सक्दैन रे भन्थे। हो रैछ,” रामबहादुरले आफ्नो हविगत सुनाए, “बरु त्यो पिँजडै पो ठीक हो कि जस्तो लाग्न थालेको छ। कहाँ जाऊँ, के गरूँ, कसलाई भेटौँ, के खाऊँ, कता बसौँ... सबै हरिबिजोग छ। धन्य, आज डासोलाई भेट्न पाएँ, निकै आडभरोस मिलेको छ।”

आफैँ ‘धरौटीको जिन्दगी’ बिताइरहेका डासो रिजाल पनि यो समय, परिबन्द र आफ्नै जिन्दगीको हविगतले ‘मौन’ मात्रै रहे।