बांग्लादेशको विभिन्न सरकारी निकायका वेबसाइट ह्याक

प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैंक र प्रहरीको आधिकारिक वेबसाइटमा ‘अपरेसन हन्टडाउन, विद्यार्थीको हत्या रोकौँ। अब यो विरोध मात्र नभई एक युद्ध हो’  भनी रातो अक्षरमा सन्देश जारी गरिएको  छ।  

बांग्लादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलनबीच प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैंक र प्रहरीको आधिकारिक वेबसाइट ह्याक गरिएको छ।  

तिनवटै वेबसाइटमा ‘अपरेसन हन्टडाउन, विद्यार्थीको हत्या रोकौँ। अब यो विरोध मात्र नभई एक युद्ध हो’  भनी रातो अक्षरमा सन्देश जारी गरिएको  छ।  

सन्देशमा विद्यार्थीको शान्तिपूर्ण विरोध प्रदर्शनले सरकारलगायत राजनीतिक सहयोगीको क्रूर हिंसा र हत्याको सामना गर्नु परेको उल्लेख गर्दै यो विरोध मात्र नभई न्याय, स्वतन्त्रता र भविष्यका लागि युद्ध  भएको जनाइएको छ।   

‘द रेजिस्टेन्स' ह्याकर समूहले भनेका छन्, “न्यायका लागि लडाइँ शुरू भइसकेको छ, तयार रहनुहोस्।” उनीहरूको बारेमा विवरण उल्लेख नगरी पाँच जना पुरुष र दुई वटा कुकुरसहितको तस्वीर वेबसाइटमा प्रस्तुत गरिएको छ।

बांग्लादेशमा सन् १९७१ मा स्वतन्त्रताको लडाइँ लडेकाहरूको सन्तानका लागि प्रदान गरिएको ३० प्रतिशत आरक्षण कोटा प्रणालीको सुधारको माग गर्दै विद्यार्थी लामो समयदेखि आन्दोलनमा रहेका थिए।