बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंह लामाको दाबी पेस

बागमतीमा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले ६ मन्त्रालय लिने सहमति भएको जनाइएको छ।

बागमती– नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) ले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।  

नेपाली कांग्रेस र नेकपा एमालेका ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले प्रदेशप्रमुख यादवचन्द्र शर्मासमक्ष दाबी पेस गरेका हुन्। कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाका साथ उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। 

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेशप्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दलहरूलाई मंगलबार साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए। 

यसैबीच कांग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले ६ मन्त्रालय लिने सहमति भएको जनाइएको छ।

कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले जानकारी दिए। 

नेकपा एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय लिने सहमति भएको छ।