पहिरो हटाएर कान्ति लोकपथ सञ्चालनमा

ललितपुर र मकवानपुरको सिमाना नजिकै पर्ने छबेलीमा पहिरो जाँदा सोमबार बेलुकादेखि हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध भएको थियो। 

मकवानपुर– काठमाडौँबाट हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा मंगलबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। 

राति नै पहिरोको अवरोध हटाइएको ललितपुरको भट्टेडाँडा प्रहरी चौकीले जनाएको छ। ललितपुर र मकवानपुरको सिमाना नजिकै पर्ने छबेलीमा पहिरो जाँदा सोमबार बेलुका ९ बजेदेखि हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध भएको थियो। 

कान्ति लोकपथअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–७ न्यासुरमा राति गएको पहिरो हटाई मंगलबार बिहानदेखि यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले राससलाई जानकारी दिए।

यसैबीच, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र फाखेल, सिस्नेरी मातातीर्थ हुँदै काठमाडौँतर्फ जोड्ने सडक पनि मंगलबार बिहानदेखि यातायात सेवा सञ्चालन भएको प्रहरी निरीक्षक शाहले बताए।