जीर्ण बन्दै सुकुमबासीका लागि बनाएको अपार्टमेन्ट (तस्वीरहरू)

काठमाडौँका विभिन्न नदी–किनारमा बस्दै आएका सुकुमबासी परिवारलाई स्थानान्तरण गर्न भनी नागार्जुनमा बनाइएको अपार्टमे‍न्ट प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– सरकारले काठमाडौँको नागार्जुन नगरपालिकामा सुकुमबासी परिवारका लागि अपार्टमेन्ट बनाएको धेरै वर्ष बितिसक्यो। २३३ सुकुमबासी परिवारलाई राख्न भनी १२ करोड रुपैयाँ लागतमा तयार पारिएको अपार्टमेन्ट प्रयोगविहीन अवस्थामा छ। 

काठमाडौँका विभिन्न नदी–किनारमा बस्दै आएका सुकुमबासी परिवारलाई स्थानान्तरण गर्न ०७१ सालमा शहरी विकास तथा भवन निर्माण विभागले अपार्टमेन्ट बनाएको थियो। तर अहिलेसम्म पनि वास्तविक सुकुमबासी परिवार छनोट गरी अपार्टमेन्टमा स्थानान्तरण हुन सकेको छैन।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका पालामा ०६९ सालमा सरकारले यी भवन बनाउने निर्णय भएको थियो। अपार्टमेन्टमा दुई वटा कम्पाउन्डमा तीन–तीन वटा गरेर कुल ६ भवन (ब्लक) छन्।

पूर्ण प्रयोगमा नआएर जीर्ण बन्दै गरेको सुविधा सम्पन्न अपार्टमेन्टको एउटा बल्कमा भने नागार्जुन नगरपालिका–१ को कार्यालय र अस्थायी पोस्ट रहेको छ भने एउटा बल्क भने मानव सेवा आश्रमले प्रयोग गरिरहेको छ।

बागमती, विष्णुमती र मनहरा किनारमा बसोबास गर्दै आइरहेका ‘सुकुमबासी’ भने सो अपार्टमेन्टमा बस्न मानिरहेका छैनन्। सुकुमबासी र भूमिहीनका लागि बनाइएका अपार्टमेन्ट पूर्ण रूपमा प्रयोगमा नआउँदा लेऊ र झारले छोपिएको छ र जीर्णसमेत बन्दै गएको छ।