यौन दुर्व्यवहारको मुद्दा खेपेका प्रस्तावित निर्वाचन आयुक्त प्रधानको सुनुवाइ बुधबार

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन दुर्व्यवहारसँग सम्बन्धित विभिन्न चार वटा उजुरी परेका छन्।

काठमाडौँ– यौन दुर्व्यवहारको मुद्दा खेपेका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ बुधबार हुने भएको छ। संसदीय सुनुवाइ समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले प्रधानको संसदीय सुनुवाइका लागि बुधबार दिउँसो १ बजे सिंहदरबारमा बैठक राखिएको जानकारी दिइन्।

प्रधानमाथि असार २१ गते नै संसदीय सुनुवाइ गर्ने भनिए पनि अचानक स्थगित गरिएको थियो। गत असार २ गते संवैधानिक परिषद्को बैठकले प्रधानलाई रिक्त रहेको निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो। उक्त निर्णयको पत्र परिषद्ले असार ४ गते समितिमा पठाएको थियो।

संसदीय सुनुवाइ समितिले प्रस्तावित आयुक्तविरुद्ध उजुरीका लागि असार ७ गते आह्वान गरेको थियो। प्रधानविरुद्ध यौन दुर्व्यवहारसँग सम्बन्धित विभिन्न चार वटा उजुरी परेका छन्। उजुरीका विषयमा समितिले उजुरीकर्तासँग असार २० गते नै छलफल गरिसकेको छ।

“भोलि सुनुवाइ समितिको बैठक राखिएको छ। प्रस्तावित आयुक्तमाथि यौन दुर्व्यवहारसँग सम्बन्धित गम्भीर उजुरी छन्। अनुमोदन गर्ने वा नगर्ने टुंगो लागिसकेको छैन,” एक सदस्यले भने, “शीर्ष नेताहरूको कस्तो निर्देशन आएको छ। त्यसैअनुसार बैठकमा जानकारी होला।”

यो पनि : सहकर्मीमाथि यौन दुर्व्यवहारमा मुछिएका प्रधानको संसदीय सुनुवाइमा ‘खेल’, १० दिनमा सुनुवाइ नभए स्वतः नियुक्ति