पूर्वमन्त्री महतोले घुस दिएको घटना छानबिन गर्न ३ सदस्यीय समिति गठन

समितिलाई समकक्षताको प्रमाणपत्र दिँदा भएका काम कारबाहीका सम्बन्धमा प्रतिनिधिसभा सदस्यबाट उठाइएको विषयमा आवश्यक छानबिन गरी सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न भनिएको छ।

काठमाडौँ– पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका सांसद डा. वीरेन्द्र महतोले घुस दिएको विषयमा छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधिम मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ। 

प्रतिनिधिसभाको साउन ६ गतेको बैठकमा सांसद महतोले छोराको समकक्षताको प्रमाणपत्र लिँदा घुस दिनुपरेको बताएका थिए। शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्र, सानोठिमीमा आफ्नो छोराको ‘सर्टिफिकेट इक्युभ्यालेन्ट’का लागि पाँच हजार रुपैयाँ घुस दिनुपरेको उनको भनाइ थियो।

सो विषयलाई लिएर मंगलबार शिक्षामन्त्रीस्तरीय निर्णयबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता केशव प्रसाद दहाल बताए। 

समितिलाई प्रतिनिधिसभा सदस्यबाट पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र दिँदा भएका काम कारबाहीका सम्बन्धमा उठाइएको विषयमा आवश्यक छानबिन गरी सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न भनिएको छ।

त्यस्तै, मंगलबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले सांसद महतोले घुस दिएको विषय तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन्। यस विषयमा सदनमा सांसदहरूले प्रश्न उठाएपछि उनले प्रहरीमार्फत अनुसन्धान अघि बढाएको जानकारी दिएका हुन्।