बुटवल–पाल्पा सडकखण्ड भासिएपछि राति सवारी चलाउन रोक

सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिकास्थित हिउँदे खोलानजिकै सडक भासिएपछि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

काठमाडौँ– सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डअन्तर्गत हिउँदेखोलानजिकै सडक भासिएपछि रातिको समयमा सवारीसाधन आवतजावत बन्द गराइएको छ। 

जिल्ला प्रशासन कार्यालय, पाल्पाले तिनाउ गाउँपालिका–५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएपछि बुधबार राति ९ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सडक बन्द रहने जनाएको हो। सम्भावित क्षति रोक्नका लागि राति सवारीसाधनको आवतजावत बन्द गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए।

सो सडकखण्डको हिउँदेखोलानजिकै सडक भासिएपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा थिए। सडक डिभिजन कार्यालयबाट सो खण्डमा मर्मतसमेत भइरहेको थियो। प्रशासनले सडक जोखिमपूर्ण अवस्थामा रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न एवं अत्यावश्यक मालवाहक साधनबाहेक अन्य साधन नचलाउन अनुरोध गर्दै आएको थियो।

“सम्भावित क्षति न्यूनीकरण गर्नका लागि मिति २०८१/४/९ गते बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को व्यवस्था नभएसम्म सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिकास्थित हिउँदे खोला नजिकैको सडक खण्डमा सम्पूर्ण सवारीसाधनहरू आवतजावत गर्न बन्द गरिएको ब्यहोरा अनुरोध छ,” प्रशासनले जारी गरेको सूचनामा भनिएको छ।

एम्बुलेन्स लगायतका अत्यावश्यक सवारीसाधन चलाउनुपर्ने अवस्थामा प्रहरीसँग समन्वय गर्न पाल्पा प्रशासनले अनुरोध गरेको छ। साथै, ठूलो पानी परेको तथा सडकमा थप क्षति पुगेमा प्राविधिकको सुझावअनुसार जुनसुकै समयमा आंशिक या पूर्ण रूपमा सवारीसाधनको आवतजावत गर्न बन्द गरिने प्रशासनको भनाइ छ।