नुवाकोटमा अविरल वर्षापछिको पहिरोबाट ९ परिवार विस्थापित

सूर्यगढी गाँउपालिका–४ अर्चलेमा मंगलबार बस्ती माथिबाट आएको पहिरोले कमलबहादुर तामाङको पक्की घर र किराना पसल बगाएको छ।

त्रिशूली– अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटमा नौ परिवार विस्थापित भएका छन्। पहिरोले एकघर र पसल बगाएको छ।

सूर्यगढी गाँउपालिका–४ अर्चलेमा मंगलबार बस्ती माथिबाट आएको पहिरोले कमलबहादुर तामाङको पक्की घर र किराना पसल बगाएको हो। वडाध्यक्ष रामशरण राईका अनुसार किराना पसल बगाउँदा त्यहाँ रहेका १० लाख बराबरको सामग्री पहिरोमा पुरिएका छन् भने घरमा पूर्ण रूपमा क्षति पुगेको छ। 

पहिरोले घरमा क्षति पुर्‍याउन थालेसँगै आफूहरू छिमेकी गाउँमा आश्रय लिन बाध्य भएको पहिरोपीडित राजकुमार तामाङले बताए। उनीसहित रामकुमार तामाङ, सुवास तामाङ, शुकबहादुर रुम्बा, शुकबहादुर तामाङ, भैरवबहादुर तामाङ, प्रेमबहादुर तामाङ, सरोज तामाङ, रामकृष्ण तामाङको परिवार विस्थापित भएका हुन्।

उक्त स्थानमा १५ वर्षअघि पनि पहिरो जाँदा पाँच परिवार विस्थापित भएका थिए।