सौर्य एयरलाइन्सको जहाज दुर्घटना: १ विदेशीसहित १८ जनाको मृत्यु

प्रहरीका अनुसार जहाजमा पाइलटसहित १९ जना सवार थिए। उनीहरू सबै एयरलाइन्सकै कर्मचारी हुन्।

काठमाडौँ– सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। प्रहरीका अनुसार १५ जनाको घटनास्थलमा र तीन जनाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घाइतेको केएमसी अस्पतालमा उपचार भइरहेको छ। 

प्रहरीका अनुसार जहाजमा पाइलटसहित १९ जना सवार थिए। उनीहरू सबै एयरलाइन्सकै कर्मचारी हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर जहाज दुर्घटनाग्रस्त भएको त्रिभुवन विमानस्थल खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ। 

९ एन–एएमई सीआरजे-७ विमान उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई धावनमार्गको पूर्वतर्फ रहेको स्थानमा दुर्घटनामा परेको थियो। विमानस्थल खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार जहाजमा पाइलट मनिष शाक्य र कोपाइलट एस कटवाल रहेका थिए। 

त्यसैगरी प्राविधिक कर्मचारीहरू अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र यमनका नागरिक अरेफ रेडा सवार थिए।