समानुपातिकतर्फ एमाले १ लाख ३० हजार मतले अगाडि

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार ३८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार ६२८ मतसहित दोस्रो स्थानमा रहेको छ।

काठमाडौँ– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ४ लाख ४ हजार ७६६ मतगणना सम्पन्न भएको छ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार ३८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार ६२८ मतसहित दोस्रो स्थानमा रहेको छ।

नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६१ हजार ८८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार २५९, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९४३ र जनमत पार्टीले ३ लाख ९४ हजार ३८५ मत प्राप्त गरेका छन्।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये १६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकी छ।

प्रतिनिधिसभातर्फ पछिल्लो मतपरिणामअनुसार कांग्रेस ५५ स्थानमा विजयी भएको छ भने एमालेले ४४ स्थानमा जित हासिल गर्दै दोस्रो स्थान कायम गरेको छ। यस्तै, माओवादी केन्द्र १७, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान सात स्थानमा जित हासिल गरेका छन्।

स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादीको चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा समान एक स्थानमा विजयी भएका छन्।