बेनी–जोमसोम सडकः बैसरीको पहिरो रोकथाममा ‘रक एंकरिङ’ प्रविधि

कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी खण्डको ५० भन्दा बढी ठाउँमा पहिरो खस्ने, सहायक खोलाबाट आएको बाढीले बगाउने र कालीगण्डकीले कटान गर्ने समस्या छ।

म्याग्दी– कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ।

पहिरो पन्छाएर थप खस्न नदिन ‘रक एंकरिङ’ प्रविधि प्रयोग गरेर रोकथाम थालिएको हो। बेनी–जोमसोम–कोरला सडकका सबइन्जिनियर सोहनजङ कार्कीले सडक माथिको पहाडमा ड्रिलिङ गरेर रड राखी, ढलानसहितको बेस बनाएर पहिरो रोकथामको काम थालिएको बताए। रक एंकरिङ गर्न ३० मिटर ‘ड्रिलिङ’ गरेर धमाधम रड राखिदैछ। पहाडमाथि पर्खाल बनाएर पहिरो रोक्ने संरचना बनाउन लागिएको सबइन्जिनियर कार्कीको भनाइ छ। 

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी खण्डको ५० भन्दा बढी ठाउँमा पहिरो खस्ने, सहायक खोलाबाट आएको बाढीले बगाउने र कालीगण्डकीले कटान गर्ने समस्या छ।

बैसरीलगायतका ठाउँको पहिराले स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ।