३२ अंकले बढ्यो नेप्से परिसूचक, १४ अर्बको कारोबार

नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ को विन्दुमा पुगेको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३२ अंकले उकालो लागेर २५६८.११ को विन्दुमा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०९ अंकले उकालो लागेर ४६०.०३ को विन्दुमा पुगेको छ। कुल तीन करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँ बराबरको कारोबार भयो।

कारोबार भएका कुल १३ उपसमूहमध्ये बिहीबार चार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। नौ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ। नेप्सेका अनुसार उपकार लघुवित्त १०, जीवन विकास लघुवित्त र एशियन हाइड्रोपावरको शेयर मूल्यमा समान ९.९९ प्रतिशतले वृद्धि भएको छ।

यस्तै, गणपति लघुवित्त ९.९७ र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाएका छन्। मितेरी डेभलपमेन्ट बैंक ७.६५, माण्डू हाइड्रोपावर ४.६८, एसबिएल डिबेन्चर ३.९२, कालिका पावर कम्पनी ३.८१ र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ३.६१ प्रतिशतले गुमाएका छन्।