ललितपुरमा ४ जनामा हैजा पुष्टि

दुई जना उपचारका क्रममा भागेका छन् भने एक जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्का एकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। 

काठमाडौँ– ललितपुरमा चार जनामा हैजाको संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले जानकारी दिए। 

हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका–१४ मा स्थिति सुधार केन्द्रका हुन्। उनीहरूमध्ये दुई जना उपचारका क्रममा भागेका छन् भने अन्य दुई जनामध्ये एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्को एक जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। 

ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भूवन पौडेलले सुधार केन्द्रमा रहेका युवामा एक्कासि झाडापखाला देखिएको र परीक्षण गराउँदा हैजा पुष्टि भएको बताए। 

उनले झाडापखाला फैलिएको क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहको सहयोगमा संक्रमण रोकथाम गरिएको जानकारी दिए। शाखाका प्रमुख डा. पौडेलले सुधार केन्द्रमा इनारको पानी प्रयोग गरिएको र उक्त पानी दूषित रहेको बताए। “इनारको पानीमा दिसाको जीवाणु देखियो,” उनले भने, “त्यहीबाट हैजा फैलिएको हो।” 

उनले भागेका दुई जनालाई हैजाको प्रारम्भिक उपचार गरेकाले उनीहरूबाट अन्यमा सर्ने सम्भावना कम भएको बताए। उनले बर्खायामसँगै पानीजन्य रोग बढ्ने भएकोले पानी उमालेर खान अनुरोध गरे।